नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ कात्तिक ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताएका छन् । गृह जिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले ठूलो पार्टीमा सामान्य विवाद जस्तो देखिए पनि कुनै हालतमा पार्टी नफुट्ने बताउँदै पार्टी जोगाउन दोस्रो पुस्ताका नेता लाग्ने बताए ।
उनले भने, ‘नेकपा समुद्र हो, समुद्रमा छाल आउँछ, त्यहीँ बिलाउँछ, छाल आयो भन्दैमा आत्तिनु हुँदैन ।’ पार्टीका नेता तथा कार्यकर्तालाई विचलित नहुनसमेत मन्त्री भट्टराईले आग्रह गरे । नेताहरुले आआफ्नातर्फबाट त्याग गरी पार्टी जोगाउनुपर्ने धारणा उनले राखे । उनले पार्टी एकता कायम गर्नका लागि जनदबाव सिर्जना गर्न नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे ।
भट्टराईले विद्यालय व्यवस्थापन तथा प्रभावकारी शिक्षण सिकाइका लागि आफ्नै खर्चबाट शिक्षकलाई मादक पदार्थ सेवन (मापसे) जाँच गर्ने यन्त्र खरीद गरेर पठाइने बताए । मैवाखोला गाउँपालिकामा आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री भट्टराईले शिक्षक नियमित रुपमा विद्यालय नआउने र आए पनि समयमै नआउने तथा मापसे गरेर आउने गुनासो आएको बताउँदै भने, ‘यदि मापसे परीक्षण गर्ने उपकरण भए विद्यालय सुधार आउँछ भने म आफ्नै खर्चबाट मापसे चेक गर्ने मेशिन खरीद गरेर पठाइदिन्छु ।’ उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा पहिलो प्राथमिकता राख्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रहसमेत गरे ।
