रौतहटमा १७ वर्षीया युवतीको गोली हानी हत्या

रौतहटको माधवनारायण नगरपालिकामा १७ वर्षीया युवतीको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहको १७ वर्षीया छोरी अमृता कुमारी साहलाई बुधबार राति साढे एघार बजेको समयमा गोली प्रहार भएको हो ।

सुतिरहेको अवस्थामा टाउकोको दाहिने कन्चटमा गोली लागेपछि उनको घटनास्थलमै मृत्यु भएको हो । मृतक महिलाकी आमा सीतादेवी साह राति घरको ढोका खोली शौचालयतर्फ गएको मौका छोप्दै अज्ञात व्यक्ति घरमा प्रवेश गरेर अमृताको टाउकोमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।



महिलाको प्रेम सम्बन्धका विषयमा भएको विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । अमृताको २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवन गोठका सोहन भन्ने रुपेश साहसँग मागी विवाह भएको थियो ।

अमृता घर गएको चौथो दिननै उनको श्रीमान रुपेशमाथि धारिलो चक्कु प्रहार भएको थियो । त्यसको तीन महिनापछि उनीहरुको सम्बन्धविच्छेद भएको थियो । घटनामा संलग्नको पहिचान भइसकेको र अनुसन्धान कार्य अगाडि बढेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार