वारपारको स्थितिमा नेकपा, ओलीलाई पेलेरै जाने प्रचण्ड-नेपाल समूहको रणनीति

नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद चर्किरहेकै बेला भोलि सचिवालय बैठक बस्ने भएको छ । सचिवालयको माग गर्दै कार्यकारी अध्यक्ष पुष्पकमाल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहले गत शनिबार नै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई लिखित ज्ञापनपत्र बुझाएका थिए । शुरूमा २ दिनको अल्टिमेटम दिएको सो समूहले क्रमश आज विहीबारसम्मको समयसीमा ओलीलाई दिएको थियो । सहमतिको कुनै गुन्जायस नभएपनि सचिवालय बैठक बोलाएर त्यसको सामना गर्न ओली तयार भएका छन् ।   बैठकमा बहुमतको नाममा पेल्ने प्रयास भएमा नेकपालाई फुटबाट जोगाउन कसैले नसक्ने धम्की ओलीले दिएका छन् ।

यता प्रचण्डले भने सचिवालय बैठकमार्फत ओलीलाई पेलेरै जाने तयारीमा छन् ।  प्रचण्डले यस विषयमा हिजो आफूनिकट नेताहरूसँग परामर्श पनि गरेका थिए । वरिष्ट नेता झलनाथ खनाल, माधव नेपालदेखि वामदेव गौतम र प्रवक्ता नरायणकाजी श्रेष्ठसम्मले प्रचण्डलाई सचिवालय बैठकमार्फत बहुमतको आधारमा निर्णय गर्दै अगाडि बढ्न सुझाव दिएका थिए । सोही सुझावको आधारमा सचिवालय बैठक बस्ने  र बहुमत सदस्यले स्थायी कमिटी बैठकको प्रस्ताव गर्ने तयारी प्रचण्ड नेपाल समूहको रहेको छ । साथै ओलीले दायाँवायाँ गरेमा स्थायी कमिटी बैठकले उनलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गर्ने समझदारी प्रचण्ड नेपाल समूहमा बनेको छ ।



प्रचण्ड नेपाल समूह यसपटक खुट्टा नकमाई ओलीको समना गर्ने तयारीमा छन् । ओलीले आत्माआलोतना गरेर सच्चिने प्रण नै गरे पनि कुनै एक पदबाट राजीनामा गराएरै छड्ने तयारी उनीहरूको रहेको छ । पार्टीमा विवाद बढेपछि समझदारी कायम गर्नुको साटो धम्की दिंदै पार्टी फुटाउने, राजीनामा नदिने र बैठक बोलाउन आनाकानी गर्ने जस्ता गैह्रजिम्मेवारपूर्ण व्यवहार प्रदर्शन गरेको भन्दै प्रचण्ड नेपाल समूह यसपटकको विवादलाई उपलब्धिपूर्ण बनाउनेमा एक देखिएका छन् । उनीहरूको तयारी हेर्दा नेकपाको पछिल्लो विवादले पार्टी फुट या सरकार परिवर्तनमध्ये एक पाटो निश्चित देखिन्छ ।

पछिल्लो समय पार्टीका सबै कमिटीमा अल्पमतमा रहेका प्रधानमन्त्री ओली भने विवादहरू छरपस्ट भएको बेलामा बस्ने बैठक बोले कुनै निकास निकाल्न नसक्ने भन्दै पहिले दुई अध्यक्षबीच समझदारी कायम गरेर मात्र बैठक बोलाउन चाहेका थिए । तर प्रचण्ड नेपाल समूह अघि बढ्ने देखिएपछि भोलिको लागि सचिवालय बैठक बोलाउन उनले महासचिवलाई निर्देशन दिएका थिए । अझैपनि उनले बैठक सार्दै प्रचण्डल नेपाल समूहलाई गलाउने रणनीति लिने सम्भावना उत्तिकै छ ।

कसैलाई प्रधानमन्त्री बन्ने लालशा पलायो भन्दैमा जनताले स्थायी सरकारको अपेक्षासहित नेकपालाई बहुमत दिएको कुरा भुलेर जनधात गर्न नमिल्ने उनको तर्क छ । ओलीले आफुलाई पाँच वर्ष सरकार चलाउनकै लागि जनताले नेकपालाई बहुमत दिएको बताउँदै आएका छन् ।

प्रचण्डसँगको पछिल्लो भेटमा पनि उनले बैठकको लागि हतार नगर्न आग्रह गरेका थिए । साथै उनले एकतर्फी रूपमा बैठक बोलाएर आफूविरूद्ध एक्शन लिएमा आफूले महाएक्शन लिने धम्की दिएका थिए । ओलीको यही धम्कीपछि गत मंगलबार बोलाएको सचिवालय बैठकलाई अनौपचारिकतामा सीमित गरिएको थियो ।

सम्बन्धित समाचार