
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका असन्तुष्ट पक्षलाई आरोपमात्रै लगाउने गरेको भन्दै ध्यानाकर्षण गराएका छन् । उनले आरोप लगाएको तर विवाद समाधानका उपाय दिन नसकेकोप्रति ध्यानार्कषण गराएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आरोप मात्र लगाउने गरेको भन्दै लिखित पत्रमार्फत ध्यानाकर्षण गराएका हुन् ।
प्रधानमन्त्रीले प्रचण्ड–नेपाल समूहले आफूमाथि आरोप लगाइरहेको तर पार्टी विवादका लागि के गर्ने भन्ने उपाय नदिएको भन्दै लिखित पत्र पठाएको स्रोतले बतायो । स्रोतका अनुसार भदौ २६ को स्थायी कमिटी बैठकले सरकार र पार्टीको अलग अलग जिम्मेवारी दिँदा पनि प्रचण्डले कुनै काम नगरेको भन्दै ओलीले प्रचण्डलाई सचेत गराएका छन् ।
पत्रमा सरकारको काम कारबाहीमा सल्लाह र नीतिगत सुझाव दिने जिम्मेवारी प्रचण्डको भए पनि प्रचण्डले सरकार नै सञ्चालन गर्न पाउनुपर्ने जसरी व्यवहार गरेको उल्लेख गरिएको छ । ओलीले प्रचण्डलाई स्थायी कमिटीको निर्णयविपरीत उभिएको बताएका छन् । गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले पार्टीको सम्पूर्ण जिम्मेवारी प्रचण्डलाई तोकेको थियो । त्यसपछि १० दिनभित्र ल्याउनुपर्ने महाधिवेशन कार्ययोजना पेस गर्नुपर्नेमा नगरेको तर सरकारका काम कारबाहीप्रति निरन्तर हस्तक्षेप गरिरहेको ओलीले पत्रमा उल्लेख गरेका छन् ।
