नयाँ सहस्राब्दी र नेपाल (कथा)

रमेश र दीपक सानो छँदादेखिकै अन्तरङ्ग मित्र हुन् । अहिले दुबैको व्यवसायिक धार अलग–अलग छ । रमेश सानोतिनो व्यापार गर्छ भने दीपक कला क्षेत्रमा लागेको छ । विशेषगरी समाजमा हुने गरेका समसामायिक घटना तथा विसङ्गतिलाई रङ्ग र कुचीका सहायताले पेन्टिङ्गमा उतार्नु दीपकको शोख नै बनेको छ । तर दीपकको यो शोखले व्यवसायिक रूप लिन भने सकेको छैन र आफ्नो रूचिको क्षेत्र भएकाले दीपकले यो क्षेत्रलाई छोड्न पनि सकेको छैन । कला साधनामा लाग्ने केही सीमित व्यक्तिहरूले बाहेक अरूले उसलाई चिनेका पनि छैनन् ।

एकदिन बिहान सबेरै रमेश दीपकको डेरामा पुग्यो । रमेश दीपकको डेरामा पुग्दा दीपक नुहाउन बाथरूम गएको रहेछ । कोठा खुल्ला भएकाले रमेश दीपकका प्रवेश ग¥यो र दीपकको प्रतीक्षा गर्न थाल्यो । प्रतीक्षाकै क्रममा रमेश दीपकको कोठाको निरीक्षण गर्न थाल्यो । रमेश यस कोठामा आएको आज पहिलोपटक भने थिएन यद्यपि आज धेरै समयपछि आएर होला उसलाई त्यो कोठा केही नौलोझैँ लाग्यो । उसले सम्पूर्ण वस्तुस्थितिको निरीक्षण ग¥यो । प्रायः सबै चिज पुरानै थिए, सबै पेन्टिङ्गहरू पनि पुरानै थिए तर दीपकको पलङ्गको सिरानमा झुण्डिएको एउटा पेन्टिङ्ग भने नयाँ देखिन्थ्यो । रमेशलाई त्यस पेन्टिङ्गका बारेमा बुझ्न पनि त्यति गाह्रो भएन किनकि केही दिन अगाडि भएको राष्ट्रव्यापी पेन्टिङ्ग प्रतियोगितामा उसको त्यो पेन्टिङ्ग प्रथम घोषित भएको थियो । उसले यो समाचार रेडियोबाट सुनेको थियो तर पेन्टिङ्ग देख्न पाएको थिएन । आज त्यही पुरस्कृत पेन्टिङ्गको अवलोकन गर्ने अवसर जुरेकोमा एकप्रकारको खुसी मान्दै पेन्टिङ्गलाई नजिक गएर नै अवलोकन गर्न लाग्यो ।



रमेश कलामा अन्तर्निहीत भाव र भाषा त्यति बुझ्दैनथ्यो तर पनि त्यो नयाँ पेन्टिङ्गले उसको दिमागलाई केही सोच्न क्रियाशील बनाइदियो । सेतो लामो हिमशृङ्खला, त्यसको केही तलतिर केही पातलो भए पनि पूर्वदेखि पश्चिमसम्म नै फैलिएको हरियो जङ्गल–पहाड, पहाडबाट झरेका नागबेली आकारका नदीहरू र झरनाहरू, ठूला नदीको किनारमा अँधेरा गाउँहरू, त्यही अँध्यारा गाउँनजिकको नदीबाट बिजुली निकाली ठूला ठूला तारहरूद्वारा शहरतिर लगिएको तर त्यही तारको छाँया पर्ने गाउँमा हात–हातमा टुकी बोकेर यत्रतत्र काममा जुटेका जस्ता देखिने मान्छेहरू, सानासाना केटाकेटीहरू आँगनमा तान हालेर केही बुन्दै गरेको, अँध्यारो बस्तीबाट केही टाढा अर्को उज्यालो गाउँ, त्यस गाउँमा मोटर तथा यातायातका साधनले उडाएको प्रदूषित धुँवाले कालो बनाएका सडकछेउका घरका भित्ताहरू र बोट–बिरूवाहरू, नदीकै छेउमा पानीको अभावमा चर्चर् चिरिएको धरती र ओइलाउन लागेका वनस्पतिहरू तथा अन्य थुप्रै प्रतीक र चिन्हहरूको पृष्ठभूमिमा एउटा सग्लो, अग्लो र ठूलो मान्छेको चित्र । आँखामा कालो चश्मा, झ्याम्लो र रातो रँगाएको लामो लामो कपाल, खुट्टामा डिङ्गो जुत्ता, घुँडासम्म आउने लामो कट्टु, जीउमा दौरा र गलामा टाई । मुखमा चुरोट च्यापेर हातमा गिटार लिएको त्यस भीमकाया व्यक्तिको मास्तिर अथवा पेन्टिङ्गको सबैभन्दा माथिल्लो भागमा त्यस पेन्टिङ्गको शीर्षक राखिएको छ– ‘नयाँ सहस्राब्दी र नेपाल ।’

बिजुलीका मोटामोटा तार टाँगिएको मुन्तिर दिउँसै हातमा टुकी बोकेका मान्छेहरू भएको अँध्यारो बस्ती, केही पर अर्को उज्यालो गाउँ तर काला वनस्पति र त्यस्तै काला घरका भित्ताहरू, असङ्ख्य नदीनाला तथा झरनाहरू तर पानी नपाएर मर्न लागेका बोट–विरूवा र फसलहरू, दौरा र कट्टुमाथि टाई लगाएको भीमकाया व्यक्तिलाई बढी प्राथमिकता दिएर बनाएको त्यस पेन्टिङ्गको रहस्य रमेशको व्यापारी दिमागले बुझेन । यतिसम्म उसले अड्कलबाजी लगायो कि यो सामाजिक व्यङ्ग्य चै पक्कै हो तर ती कुन प्रतीकले के व्यङ्ग्य गथ्र्यो त्यो बुझ्ने क्षमता भने उसको थिएन । रमेशले सोच्यो ऊ दीपकलाई त्यस पेन्टिङ्गको रहस्योद्घाटन गरिदिन आग्रह गर्नेछ । दीपकले रहस्योद्घाटन गरेपछि मात्र उसलाई त्यस पेन्टिङ्ग बारे जानकारी हुनेछ ।

जतिबेला रमेश दीपकको पेन्टिङ्गका बारेमा सोच्तै थियो, ठीक त्यही बेला तौलियाले आफ्नो कपाल पुछ्दै दीपक कोठामा प्रवेश ग¥यो । दीपकले रमेशलाई देख्नासाथ भन्यो “अरे रमेश, यो के अचम्म भयो ? एकबिहानै एउटा व्यापारी एउटा कलाकारका कोठामा ? लामो समयपछि पो दर्शन दिइस् त ? भन, नयाँ खबर के छ ?”

“मेरो कुरा छोडिदे यार” रमेशले दीपकको कुरालाई मोड्दै भन्यो “तेरो यो पेन्टिङ्ग बुझ्न त गाह्रो भयो यार, तैले यो के बनाएको ? कि कलाकारले जे बनाए पनि पुरस्कृत हुन्छ ? यो पेन्टिङ्गका बारे केही रहस्य बताइदे, अनि अरू गफ पनि गरौँला ।”

“हेर रमेश, सामाजिक वातावरण अथवा परिवेशले मानव हृदयमा जस्तो प्रभाव पारेको हुन्छ, त्यही प्रभावलाई कलाकारले, सर्जकले वा स्रष्टाले कलाको रूप प्रदान गर्ने हो। अझ यसो भनौ स्रष्टाको मनको अभिव्यक्ति नै कला हो । सर्जकले आफ्नो अन्तर्मनको अनुभूतिलाई कोही साहित्यका रूपमा, कोही गीत–सङ्गीतका रूपमा, कोही अन्य रूपमा प्रस्तुत गर्छन् । मैले त्यही अनुभूतिलाई पेन्टिङ्गमा उतार्ने प्रयास मात्र गरेको हुँ । एउटै घटनाले धेरैका मनमा अलग अलग प्रकारको अनुभूति दिने भएकोले एउटाको अनुभूतिसँग अर्कोले पनि सहमत हुनुपर्छ भन्ने केही छैन । त्यसैले सिर्जनाभित्र लुकेका रहस्यलाई दर्शक, पाठक वा भावकले आफैँ खोतल्नु पर्छ, आफैं उत्खनन र अन्वेषण गर्नुपर्छ ।”

“हेर दीपक मलाई अरूलाई जस्तो दार्शनिक उत्तर नदे न । मलाई त्यस्ता केही सङ्केत बताइदे जसले तेरो पेन्टिङ्ग बुझ्न केही मद्दत गरोस् मात्र भनेको हुँ । तँ त झन पेचिलो जवाफ पो दिन्छस् यार ।”
“हरेक सर्जकले आफ्नो सिर्जनामा केही रहस्य, केही रहस्योद्घाटन, केही दर्शन, केही आदर्श र केही वैचारिक चिन्ततनलाई मिसाएको हुन्छ । यदि सर्जकले नै उसका सिर्जनाभित्रको त्यस सारतत्वलाई खुलस्त पार्ने हो भने त्यो सिर्जना प्राणहीन, कान्तिहीन र भावरहित हुन पुग्छ अथवा नाङ्गिन पुग्छ । सिर्जनालाई जीवन्त राख्न र सदावहार पार्न कलाकार मौन र भावक वा द्रस्टा नै क्रियाशील हुनुपर्छ । यसैकारण मोनालिसाको मुस्कान आजसम्म जीवित छ, यसैकारण देवकोटाको ‘मुनामदन’ आजसम्म अमर छ । त्यस्तै मोहन कोइराला र बैरागी काइँलाका कविताको रहस्योद्घाटन हुन बाँकी नै छ, शङ्कर लामिछानेको निवन्ध–चिन्तनको गरिमा अभैm घटेको छैन, इन्द्रबहादुर राईको उपन्यास ‘आज रमिता छ’ आज पनि रमितै रहेको छ । यस्ता थुप्रै कलाकार र सर्जकहरू छन् जसका कृतिको रहस्य आजसम्म पनि रहस्यकै रूपमा रहेका छन् । त्यसैले ती कुतिहरू जीवन्त पनि छन् । रहस्य नै कला हो । जहाँ रहस्य शून्य हुन्छ त्यहाँ कला कला रहँदैन । रहस्य नै कलाको प्राण हो नत्र कला प्राणहीन बन्दछ । त्यसैले तँ यो पेन्टिङ्ग हेरेर जे अर्थ लगाउँछस् त्यो नै यस सिर्जनाभित्रको रहस्य वा सार हो ।”

रमेशका लागि दीपकको भनाइले रहस्य सुल्झेन बरू झन् उल्झियो । त्यसैले उसले यस विषयलाई थन्क्याउने विचारले कुरालाई मोड्न चाह्यो “हेर दीपक तेरो दार्शनिक चिन्तन तैँसँग राख, मलाई त केही समयका लागि अलिकति रकम चाहिएको थियो, त्यसैले तँसँग भए केही दिन काम चलाउँ भनेर मात्र आएको हुँ । छ भने अहिलेलाई काम चलाई दे, केही दिनमा नै म फर्काइदिनेछु । छैन भने पनि केही छैन ।”

दीपकले रमेशको प्रश्नमाथि अलिकति पनि गम्भीर नभई उसलाई एकछिन आरामसँग बस्न आग्रह ग¥यो र स्टोभ जलाउन लाग्यो । केही छिनमा नै दुई गिलास कालो चिया लिएर आयो र एउटा गिलास रमेशतिर बढाउँदै भन्यो “कालो भए पनि चिया पिऔं है ।”

चियाको चुस्की लिँदै दीपकले भन्यो “हेर रमेश, यति धेरै समयछि तँ सानो सहयोगका लागि मकहाँ आइस्, तँलाई म खै के भनौँ ? तैँले नेपालका कलाकारलाई अभैm पनि चिन्न सकेको रहेनछस् । कलाकारसँग कला हुन्छ तर पैसा हुँदैन । जोसँग धेरै पैसा हुन्छ त्यो एक व्यापारी वा उद्योगपति हुन सक्छ तर असल कलाकार बन्न सत्तैmन । म पनि त्यस सत्यबाट अपवादमा रहन सकेको छैन । पैसाबाहेक मसँग जे मागे पनि तेरा निम्ति समर्पण गर्न तयार छु तर मसँग जे थिएन त्यही मागिस्, म तँलाई के जवाफ दिऊँ ? बेला मौकामा कलाकारहरूले प्रशंसा पाउँछन्, पदक पाउँछन् तर पैसा भने कमै मात्र पाउँछन् । अस्ति हेर न, त्यो पेन्टिङ्ग प्रतियोगितामा बुझेर हो या नबुझेरै हो, निर्णायक मण्डलले मेरो यस पेन्टिङ्गलाई उत्कृष्ट घोषित गरे । रेडियोले समाचार दियो, टीभीले अन्तर्वार्ता लियो तर बेलुका कोठामा आइपुग्दा घरबेटीले तीन महिनादेखि घरभाडा तिर्न नसकेकोमा झण्डै घरैबाट निकालिदियो । एक हप्तामा पैसा तिर्न नसके यही पदक बेचेर भए पनि तिरौँला भनेको त ‘त्यस्ता नक्कली पदकको धाक नदेखाऊ, मसँग सक्कली सुन नै प्रशस्त छ’ भनेर झन् जङ्गियो । जसो तसो थमाएँ । श्रीमतीका साना मसिना फर्माइस पूरा गर्न नसक्ता मसँग जहिले जङ्गेर झगडा गर्थी र ‘कलाकारकी स्वास्नी हुनुभन्दा त एउटा ड्राइभरकी स्वास्नी हुनु राम्रो, खान लाउन त सजिलैसँग दिन सक्छ’ भन्थी । उसको कुराले मेरो स्वाभिमान क्षतविक्षत हुन्थ्यो तैपनि परिस्थितिले मलाई लाचार बनाउथ्यो र म चुपचाप सहन विवश हुन्थेँ । एकदिन बेलुका घर फर्किदा त ऊ साच्चै नै एउटा ड्राइभरसँग भागिछ । म खोज्न पनि गइनँ । यसरी पैसा नकमाएकै कारण श्रीमति हिडेको पनि २ वर्ष भइसक्यो । तैले देखिहालिस्, हाल म एक्लो जीवन जिउँन बाध्य छ’ । जिउँदो हुँदा सिटामोल किनेर खाने पैसा नहुने तर मरेपछि चोक बजारमा ढुङ्गाको मुर्ति बनाएर ठड्याइने अकिञ्चन कलाकार हुँ म । यस्तासँग तँ पैसा माग्न आइस्, मलाई माफ गर् रमेश, तँलाई मैले निराश मात्र बनाएँ …।”

दीपक भावनामा बग्दै थियो रमेशले बीचमा कुरा काटेर भन्यो “मलाई अन्यथा नसम्झी दीपक, अनाहकमा तेरो आत्मसम्मानमा चोट पु¥याएँ । मलाई तेरो यतिधेरै पीडा थाहा थिएन । व्यापारको सिलसिलामा अलिकति पैसा चाहिएको थियो धेरै कुरा नसोची तँकहाँ आएँ । भाउजू हिडेको त सुनेकै थिएँ तर कारण थाहा थिएन । सायद धेरैको जीवन तेरो यो पेन्टिङ्गजस्तै विसङ्गतिपूर्ण नै हुन्छ होला । तँ त जीवनसाथीको साथ नपाएर एक्लै भइस्, यहाँ धेरै मान्छेहरू त जीवनसाथी साथै भएर पनि एक्लै–एक्लै छन् । धेरैभित्रको एक्लोपन झन् पीडादायक हुन्छ ।” उठ्ने तर्खर गर्दै रमशले पुनः भन्यो “अन्यथा चै नमान् है दीपक, अनाहक तेरो घाउ कोट्याउन आइपुगेँछ’ । अहिले म जान्छ’, फेरि कुनै दिन मौका मिलाएर दुःख–सुखका कुरा गर्न आउनेछ’ ।”

“यसमा मैले अन्यथा मान्नु पर्ने केही कारण छैन । तैँले आफ्नो ठाउँबाट ठीकै गरेको होस् । असजिलो परेको बेला आफ्नो साथीलाई सम्झनु अन्यथा कदापि होइन । मैले नै आफूलाई समयसापेक्ष बनाउन नसकेको हुँ । गरिबीको दोसल्ला ओडाएर स्वाभिमानको शिशुलाई हुर्काउन खोज्नु आफैँमा एउटा असफल प्रयास मात्र रहेछ । इमान्दार कलाकारहरू स्वाभिमानी हुँदोरहेछन्, त्यसैले उनीहरू सदा आर्थिक रूपले विपन्न नै बन्दारहेछन् । मैले बेइमानी गरेर खाएको चौरासी व्यञ्जनभन्दा इमानको गुन्द्रुकलाई नै श्रेय ठान्ने गल्ती गरेँ, त्यसैले म आर्थिक रूपले धेरै पछि पनि परेँ यार ! तर पनि मलाई मेरो गरिबीप्रति घृणा छैन बरू आफ्नो इमान्दारीमाथि गर्व छ । म त भन्छु ती मान्छेहरू मात्र वास्तविक गरिब हुन् जोसँग पैसाबाहेक अरू केही हुँदैन ।”
समय आफ्नो गतिमा क्रमशः अगाडि बढ्दै गयो ।
रमेशको बिग्रन लागेको व्यापार व्यवसायले नयाँ गति समात्यो । थुप्रै ठूला व्यापारीहरूलाई उसले साथी बनाउन सफलता प्राप्त ग¥यो । ऊ प्रगतिको सिँढी चढ्दै गयो ।
एकदिन ।
व्यापारकै सिलसिलामा रमेश आफ्नो एउटा व्यापारी साथी भेट्न वीरगञ्ज पुग्यो । साथी बाबुलालले पनि रमेशको हार्दिक स्वागत ग¥यो । बाबुलालले रमेशलाई आफ्नो बैठक कोठामा लगेर तातो चिसोको औपचारिकता पूरा ग¥यो । कफीको चुस्की लिँदै रमेशले बाबुलालको बैठक कोठामा अवलोकन गर्दै थिया,े ऊ एकाएक झस्किन पुग्यो । बाबुलालको बैठक कोठाको एउटा भित्तामा एउटा पूर्व परिचित पेन्टिङ्ग झुण्ड्याइएको थियो । रमेशले एक निमेषमा नै त्यो पेन्टिङ्ग चिनिहाल्यो । बाबुलालको कोठामा झुण्ड्याइएको त्यो पेन्टिङ्ग उसको अन्तरङ्ग मित्र दीपकले बनाएको थियो । त्यही पेन्टिङ्गको रहस्य बुझ्न नसक्ता कुनै दिन कत्रो बहससमेत भएको थियो । त्यस पेन्टिङ्गभित्रको रहस्य जान्न नसक्ता उसले जिल्लिनु परेको घटना आज पनि उसको दिमागमा ताजै थियो । दीपकले आफ्नो सम्पूर्ण सीप र क्षमता देखाएर बनाएको त्यो पेन्टिङ्ग कसरी बाबुलालका बैठक कोठाको शोभा बन्न आइपुग्यो ? रमेशलाई बढो आश्चर्य लाग्यो ।

“रमेशबाबु, तपाई किन यसरी एकोहोरिनुभएको ? के छ त्यस पेन्टिङ्गमा त्यस्तो आकर्षण ?” रमेशलाई टोलाएको देखेर बाबुलालले जिज्ञासा राख्यो । विचरा बाबुलालले त्यस पेन्टिङ्गको मर्म के बुझोस्, तर पनि रमेशलाई बाबुलालले त्यो पेन्टिङ्ग कहाँबाट कसरी ल्यायो होला भन्ने जिज्ञासा जाग्यो ।
“बाबुलालजी, तपाईले त्यो पेन्टिङ्ग कहाँबाट प्राप्त गर्नु भयो ?”
“किन रमेशबाबु ? काठमाण्डूबाट ल्याएको ।”
“कसरी प्राप्त गर्नु भयो त्यो पेन्टिङ्ग, कृपया बताइदिनुहोस् न ।” रमेशले बाबुलालसँग उत्सुकताबस् अनुरोध ग¥यो ।
“३–४ महिना अगाडि व्यापारकै सिलसिलामा म तपाईको काठमाण्डू गएको थिएँ । काठमाण्डूमा मेरो एउटा गाउँको भाइ दुकान गर्छ, म उसको डेरामा बसेको थिएँ । उसको कोठामा गएको अर्को दिन त्यहाँ एउटा घटना घट्यो । म बसेको कोठा नजिकको कोठामा डेरा गरी बस्ने एउटा मान्छी सुतेकै ठाउँमा मरेछ । मेरो भाइ भन्थ्यो– त्यो मान्छी ८–१० दिनदेखि बुखारले बिमारी परेको थियो अरे । छेउको कोठामा त्यो मान्छी मरेकाले हामीलाई पनि नराम्रो लाग्यो तर उसको लासको अन्तिम संस्कार गर्ने कोही पनि निस्केनन् । घरबेटीले त झन ४–५ महिनाको भाडा डुब्यो भनेर धेरै दुःख मान्यो । हामीले नै पैसा उठाएर उसको काजक्रिया गराइलियौँ । त्यस मान्छीको कोठामा त्यो पेन्टिङ्ग पनि रहेछ । मलाई मन प¥यो र घरसाहुको केही भाडा तिरिदिएवापत मैले यो पेन्टिङ्ग लिएँ । काठमाण्डूका मान्छीहरू देखेर म छक्क परेँ रमेशबाबु, एउटा मान्छी मर्नलाग्दा पनि कसैले सहयोग गरेनन् र मरेपछि पनि यादै गरेनन् । एउटालाई दुःख पर्दा अर्कोले सहयोग नगर्ने हो भने त्यो समाजको के अर्थ र के महत्व ? होइन र रमेशबाबु ? पशुपतिनाथको आँगनमा त्यो घटना देखेर म बहुतै चकित भएँ । बरू मैले उसलाई मरेपछि भए पनि केही सहयोग गरेर पुण्य कमाइलिएँ । हामी व्यापारी मान्छी हो तर मानवता बिर्सेर पैसाको पछि मात्र त दौडिइँदैन नि ।”

बाबुलालका कुराले रमेशका आँखा रसाए । रमेशले बुझ्यो उसको परम मित्र दीपक अब यस दुनियाँमा रहेनछ । रमेशले दीपकले कुनै एक प्रसङ्गमा एक दिन उसलाई भनेको कुरा सम्झ्यो “बिमारी पर्दा सिटामोल किनेर खान नदिने तर मरेपछि चोक बजारमा ढुङ्गाको मूर्ति बनाएर ठड्याइने कलाकार हुँ म ।” उसको भनाइ उसैको जीवनमा चरितार्थ भएछ । एउटा भावुक कलाकार, एउटा सफल रङ्गकर्मी, आफ्ना जीवनको भोगाइ र अनुभवलाई रङ्ग र कुचीको सहयोगले पेन्टिङ्गमा जीवन्त रूपमा उतार्ने सिर्जनशील व्यक्तित्वको यसरी दुःखद् अन्त्य भएछ । विचरा दीपक इमान्दारी र स्वाभिमानको गीत गाउँदै विलायो तर यो स्वार्थी दुनियाँले उसको आदर्शलाई बुझ्न सकेन । रमेशले मनमनै प्रश्न ग¥यो– के हरेक इमान्दार मान्छेको अन्त्य यसरी नै हुन्छ ? बिमारी पर्दा औषधि नै खान नपाउने गरी दीपकले यस समाजमा के अपराध गरेको थियो ? के आफ्नो स्वाभिमानमा गर्व गर्ने, इमान्दार, कर्मशील र सिर्जनशील सबै दीपकहरूको अन्त्य यसरी नै हुन्छ ?

रमेशले सोच्यो दीपकको जीवन पनि उसले सिर्जना गरेको पेन्टिङ्ग जस्तै रहस्यमय रहेछ । ऊ टुट्न सक्यो तर आफ्नो आदर्शको विपरीत झुक्न जानेन । एउटा खाते बालकको अन्त्य र दीपकको अन्त्यका बीच के तात्विक अन्तर रह्यो र ? रमेशले फेरि मनमनै चित्त बुझायो पनि । सोच्यो– दीपक अरू २–४ वर्ष बाँचको भए पनि के नै उपलब्धि हुन्थ्यो होला र ? बढीमा अरू २–४ वटा पेन्टिङ्गमा समाजका विसङ्गतिहरूलाई उतार्ने थियो, १–२ वटा मेडलहरू थपिने थिए । बाबुलालजस्तै व्यापारीहरूले उसका पेन्टिङ्ग लगेर आफ्नो बैठक कोठाको शोभा बढाउँथे र नेपाली समाज र नेपाली कलाकारको खिल्ली उडाउँथे । विचरा मरेछ, बरू एक प्रकारले ठीकै पनि भयो ।

रमेशका आँखाबाट झरेका अविरल आँसुका धाराले बाबुलाललाई आश्चर्यमा डुबाइदियो । उसले मौनतालाई चिर्दै भन्यो “रमेशबाबु, तपाईका आँखामा आँसु ?”

“बाबुलालजी, यो पेन्टिङ्ग अरू कसैको नभएर मेरो अनन्य मित्र दीपकको हो । ऊ एउटा महान् आत्मा भएको स्वाभिमानी कलाकार थियो । ऊ व्यङ्य गर्ने गथ्र्यो ’कलाकार सिटामोल खान नपाएर मर्छन्’ भनेर, साँचो रहेछ । उसको यस्तो कहालीलाग्दो अवसान होला भनेर मैले सपनामा पनि सोचेको थिइनँ । एउटा हितैषी साथी भएको नाताले उसको अन्त्य कालमा मैल क’नै सहयोग गर्न सकिनँ, तर अन्जानमै भए पनि तपाईले उसको अन्तिम संस्कारका लागि जुन योगदान दिनुभयो त्यसका लागि म एउटा साथीको हैसियतले तपाईप्रति हार्दिक आभार प्रकट गर्दछ’ । बाबुलालजी, म तपाईप्रति साँच्चै कृतज्ञ छु ।” रमेशले बाबुलाललाई हात जोड्यो ।

बाबुलाल के भन्नु के नभन्नु भएर चकित बन्यो । उसले मनमनै सोच्यो– अन्जानमा नै भए पनि उसले एउटा राम्रै काम गरेछ । उसले मनमनै भगवानलाई धन्यवाद दियो । रमेश साथीको अवसानको खबरले बढी नै भावुक बनेको देखेर बाबुलालले पनि केही बाल्नै पर्ने ठानेर भन्यो “रमेशबाब’, त्यो तपाईको साथी, त्यत्रो ठूलो कलाकार हो भन्ने जानेको भए म झन् खुलेर सहयोग गथेँ । यसमा तपाईले ममाथि आभारी हुने आवश्यकता छैन किनकि त्यस आशामा मैले सहयोग गरेको थिइनँ । मैले त एउटा मानवताका नाताले निःस्वार्थ सहयोग गरेको हुँ । हामीजस्ता व्यापारीहरूले कति बद्मास फटाहादेखि यहाँका ठूला भनिने नेतासम्मलाई दिनहुँ हजारौँ रूपैया चन्दा दिनुपर्छ । देशको एउटा सपुतलाई यसरी सेवा र सहयोग गर्न पाउनु त मेरो पनि भाग्यकै कुरा हो ।’

बाबुलालको भनाइमा दम थियो । उसको आशयमा मानवीय मर्म लुकेको थियो । यस्तै भावना सबैमा भइदिएको भए दीपकले अकालमैँ मर्नुपर्ने थिएन । बाबुलालको भनाइले झन् मर्माहत भएको रमेशले भन्यो “बाबुलालजी ऊ हिलोभित्रको कलम थियो, पत्थरभित्रको हीरा थियो । भलै मैले उसले जस्तो कलालाई नै साध्य मानेर त्यसको यथोचित साधना गर्न सकिनँ होला तर दीपकप्रति मेरो ठूलो सदासयता थियो । ऊ मजस्तो पैसाको पछि दौडेन तर उसको त्यागलाई समयले चिन्न सकेन । भोलि गएर उसको कलाको, उसको भावनाको र उसको त्यागको मूल्याङ्कन हुन पनि सक्छ । उसैले भने जस्तो चोक बजारमा उसको ढुङ्गाको मूर्ति पनि ठडिन सक्छ, तर त्यसको के अर्थ छ ? जीवितअवस्थामा सामान्य आवश्यकता पनि पूरा गर्न नसकिएको एउटा कलाकारलाई मरेपछि यहाँ जे पनि गरिन सक्छ, जे पनि भनिन सक्छ । यहाँको सुदीर्घ परम्परा नै यस्तै छ र दीपक पनि त्यही परम्पराभित्र पर्न सक्छ ।”

एउटा लामो सास लिएर रमेशले पुनः भन्यो “जीवन र मृत्युबीचको दूरी पनि साह्रै फराकिलो हुँदोरहेनछ । केही समयअगाडि मात्र उसलाई भेट्ता एउटा प्रसङ्मा उसले मलाई भनेको थियो– रमेश, दिनदिनै मरेर वषौँ बाँच्नुभन्दा त प्रेमपूर्वक र सम्मानपूर्वक बाँचेको एक पल नै कता हो कता लामो र महान् हुन्छ तर मेरो जीवनमा त ती दुबै कुराहरू सम्भव भएनन् । अब बन्ने मेरा पेन्टिङ्गको सन्देश हुनेछ– सक्छौ भने प्रेमपूर्वक बाँच, हाँसेर बाँच, इमान्दार भएर बाँच र माटोको लागि केही योगदान गरेर बाँच ।’ हिजो जस्तो लाग्छ उसले भनेका यी शब्दहरू, आज ऊ भूत बनिसक्यो । केवल एउटा मधुरो स्मृति छाडेर ऊ टाढा कतै गइसक्यो ।” बोल्दाबोल्दै रमेशका आँखाबाट पुनः आँसुका थोपाहरू तप्तप् झरे । आँखाभरि आँसु पारेर श्रद्धावश रमेशले बाबुलालका बैठक–कोठाका भित्तामा टाँगिएको दीपकको पेन्टिङ्गमा नजर पु¥यायो, फेरि पनि त्यस पेन्टिङ्गले यो समाज र सिङ्गो देशलाई नै व्यङ्ग्य गरेझैं लाग्यो । कुँढिएको मनले रमेशले दीपकको पेन्टिङ्गको शीर्षक मनमनै पढ्यो “नयाँ सहस्राब्दी र नेपाल ।”

 

सम्बन्धित समाचार