नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ कात्तिक ।

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालयमा राजनैतिक दस्तावेज नभई भ्रमको पुलिन्दा भएको टिप्पणी गरेका छन् । उनले शनिवार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो प्रस्ताव अराजनैतिक भएको एवम् अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण भएको बताएका छन् ।
उनले यस्तो पत्रमाथि पार्टी कमिटीहरूमा छलफल हुन नसक्ने बताएका छन् । उनले लेखेका छन्, ‘अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण हो । यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन ।’
उनले पार्टी विधान, परम्परा, अभ्यास र दुवैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन भएको भन्दै त्यसलाई फिर्ता लिनुपर्ने बताएका छन् । उनले लेखेका छन्,’यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।’
