नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० कात्तिक ।

नेपालमा पश्चिमी वायुको प्रभाव शुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनअनुसार हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव परेको हो। जसका कारण गण्डकीदेखि पश्चिमका प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै ती क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यमसम्म हिमपातको समेत सम्भावना छ।
यसले जनजीवनमा पार्न सक्ने प्रभाव अनुमान गर्दै मौसम पूर्वानुमान महाशाखाले २४ घण्टे चेतावनीसमेत जारी गरेको छ।‘सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ चेतावनीमा भनिएको छ, ‘र, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन हुन अनुरोध छ।’
महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार मनसुन बाहिरिएयता नेपालमा पश्चिमी वायुको प्रभाव परेको यो दोस्रोपटक हो। ‘अघिल्लो पटककको भन्दा यसको प्रभाव अलि बढी देखिएको छ,’ उनले भने, ‘अन्तिम हप्ताको पश्चिमी वायुले पश्चिमतिर हल्का वर्षा मात्रै गराएको थियो, यसले हिमपात पनि गराउने सम्भावना देखिएको छ।’
