नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० कात्तिक ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आज वरिष्ट नेता माधव नेपाललाई बालुवाटार बोलाएर छलफल गरेका छन् । यसअघि उनले नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग पनि बालुवाटारमै छलफल गरेका थिए । नेता नेपालसँग ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सँगै हिंड्न नसकिने बताएका थिए ।
ओली र नेपालबीच बालुवाटारमा करीब २ घण्टा छलफल भएको थियो । आज भेटमा पनि प्रधानमन्त्रीले ‘जे चाहियो त्यो लिनुस्’ भन्दै पूर्व एमाले एकजुट हुनुपर्ने र त्यसका लागि आफूले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका थिए ।
गत शुक्रवार प्रचण्डले ओलीमाथि दर्जन बढी आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेश गरेपछि ओली पक्ष क्रुद्ध बनेको छ । सो प्रस्ताव फिर्ता नलिए मङ्सिर ३ का लागि बोलाइएको अर्को सचिवालय बैठक बस्न सम्भव नहुने ओलीपक्षको दाबी छ । नेपालसँगको भेटमा ओलीले प्रस्तावका रूपमा आफूमाथि लागेको झुटो आरोप खण्डन गर्न आवश्यक नै नभएको भन्दै त्यसलाई फिर्ता नलिए अनिष्ट हुने चेतावनी दिएका थिए ।
जवाफमा नेता नेपालले यति ठूलो मेहनतका साथ गरिएको एकता लहडका भरमा तोड्न नहुने सुझाव दिए । नेता नेपालले अस्ति पेश गरिएको प्रस्ताव प्रचण्डको मात्र नभएको बरू सामूहिक भएको दाबी गरे ।
