हिन्दु र मुस्लिमबीच भाइटीका : धार्मिक मेलमिलापको उत्कृष्ट नमुना

मुस्लिम समुदायकी महिला कस्मिरा खातुन र हिन्दू समुदायको यादव महराबीच भाइटीका आदानप्रदान भएको छ । सोमबार भाइटीकाको अवसरमा नेपालगञ्ज उपमहानगपालिका–२ खरबारी टोलकी मुस्लिम समुदायकी कस्मिरा खातुनले कर्णाली प्रदेश तालिम केन्द्रमा कार्यरत हिन्दु समुदायका सई यादव महरालाई भाइटीका लगाइदिएर धार्मिक एकता र सद्भावको नमुना प्रदर्शन गरेकी छिन् ।

नेपाल मुस्लिम संगठनकी केन्द्रीय सदस्यसमेत रहेकी खातुनले आफूले भाइ भन्दै आएका महरालाई टीका लगाइदिएर औपचारिक रूपमै दिदीभाइको पवित्र सम्बन्धमा जोडिइन् ।  खातुनले नेपालगञ्जस्थित आफ्नै घरमा सई महरालाई बोलाएर टीका आदानप्रदान गरेका हुन् ।



आडम्बरी धर्मभन्दा दिदी भाइको मानवीय नाता पवित्र र दिगो हुन्छ भन्ने तर्क दिने खातुन मानिस धार्मिक सम्प्रदायको संकुचित चिन्तनबाट माथि उठ्नुपर्ने बताउँछिन् ।

अर्घाखाँची जिल्लाको पालीमा जन्मेहुर्केकी कट्टर मुस्लिम समुदायकी खातुनले हिन्दु समुदायको व्यक्तिलाई भाइटीका लगाइदिँदा परिवारबाट कुनै विरोध नभएको बरू प्रशंसा पाएको बताउँछिन् ।

उता सई यादव महरा आफू हिन्दु परिवारमा हुर्के पनि मुस्लिम समुदायकी दिदीको ममता पाउँदा अत्यन्त गर्व र खुसी लागेको बताउँछन् ।

सम्बन्धित समाचार