प्रचण्डलाई भेटेर नेकपा महासचिव पौडेलले भने-‘पार्टी फुटेको टुलुटुलु हेर्न बाध्य भइयो’

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टी महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटवार्ता पार्टीको विकसित पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित रहेर छलफल भएको थियो । भोलिका लागि बोलाइएको सचिवालय बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली पछि सार्नु पर्ने पक्षमा छन् भने बहुमत सदस्य भोलि नै बैठक बस्नु पर्ने पक्षमा छन् । ओलीले प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नगरेमा बैठक बस्न नसक्ने बताउँदै आएका छन् ।

सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि आरोप नै आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद झन चर्किएको छ । पार्टीको विवाद मिल्न नसक्दा नेकपा फुटको संघारमा पुगिसकेको छ । पौडेलले आजको भेटमा प्रचण्डलाई राजनीतिक प्रस्तावबारे पछि छलफल गर्नेगरी हाललाई विवाद समाधानलाई केन्द्रमा राखेर एजेण्डा तय गर्न आग्रह गरेका थिए ।



पौडेलले दुई अध्यक्षले मात्र जारी विवाद समाधान गरेर पार्टी एकतालाई जोगाउन सक्ने भन्दै त्यसको लागि पहल गर्न आग्रह गरेका थिए । ‘हामी त नेकपा फुटेको टुलुटुलु हेर्न बाध्य भइयो, चाहनुभयो भने तपाईंले नै फुटबाट बचाउन सक्नुहुन्छ’, भेटमा महासचिव पौडेलले भनेका थिए ।

जवाफमा प्रचण्डले ओली बैठकबाट भाग्न नपाउने बताएका थिए । ‘ओलीजी सहभागी नभए पनि सचिवालय बैठक बस्छ, बहुमतको निर्णय वहाँले स्वीकानै पर्छ । सधै मनपरि ढंगले पार्टाी अगाडि बढ्न सक्दैन । तपाईंले मलाई भन्दापनि ओलीजीलाई पार्टी एकता जोगाउन आग्रह गर्नुपर्यो’, प्रचण्डको भनाई उध्रित गर्दै स्रोतले भन्यो ।

सम्बन्धित समाचार