देशभर बढ्यो चिसो : जुम्लामा तापक्रम माइनस १.६ डिग्री सेल्सियस

देशभर दिनप्रतिदिन जाडो बढ्दै गएको छ। सबैभन्दा कम तापक्रम जुम्लामा देखिएको छ। मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार मंगलबार त्यहाँको न्यूनतम तापक्रम माइनस १.६ डिग्री सेल्सियसमा झरेको हो।

यसपछि सबैभन्दा कम तापक्रम मुस्ताङको जोमसोममा देखिएको छ। त्यहाँ मंगलबार न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको महाशाखाले जनाएको छ ।



यस्तै मंगलबार काठमाडौं उपत्यकाको तापक्रम पनि ओरालो लागेको छ। महाशाखाका अनुसार मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झरेको हो।

महाशाखाले बुधबार बिहान ६ बजे २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ – ‘देशका धेरै स्थानमा न्यूनतम तापक्रम घट्नुका साथै तराईमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

महाशाखाका अनुसार अहिले सुदूरपश्चिमको पहाडी भेगमा आंशिक बदली छ भने देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा छ।

सम्बन्धित समाचार