नेकपा सचिवालय बैठक बस्ने समयमै प्रधानमन्त्रीले राखे मन्त्रिपरिषद बैठक, अध्यादेशकाे आशंका

प्रधानमन्त्री केपी ओलीले आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन्।  सोमबार र विहीबार मन्त्रिपरिषद बैठक बस्ने गरेको भएपनि ओलीले आज बुधबार नै आकस्मिक रुपमा बैठक बोलाएका हुन् । आजै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको पनि सचिवालय बैठक बस्दैछ। दिउँसो १ बजे नेकपा बैठक बस्ने भनिएका बेला प्रधानमन्त्री ओलीले त्यही समय मिल्ने गरी मन्त्रिपरिषद बैठक राख्न लागेका हुन्।

नेकपाभित्र अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ। कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव पेश गरेका थिए। प्रचण्डको उक्त प्रस्ताव फिर्ता गरिनुपर्ने प्रधानमन्त्री ओली पक्षका नेताको भनाइ छ।



तर प्रचण्डसहित सचिवालयका पाँच जना सदस्यहरूले त्यो प्रस्ताव प्रचण्डको एकल नभएकोले सचिवालय बैठकमै छलफल हुनुपर्ने बताएका छन्। नेकपाभित्र विवाद बढ्दै गएका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार फरकफरक समयमा अध्यक्षद्वय ओली र प्रचण्डसँग छलफल गरेकी थिइन्।

आजको सचिवालय बैठक सार्नुपर्ने पक्षमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र उनीनिकटका सचिवालय सदस्य छन्। तर प्रचण्ड र माधव नेपाल समूह भने सचिवालय बैठक आजै बस्ने र बहुमतको आधारमा निर्णय गरेर पार्टीलाई अगाडि बढाउने अडानमा छन् । दुबै समूह आ आफ्नो अडानमा रहेको बेला सचिवालय बैठक डाकिएकै समयमा मन्त्रिपरिषद् बैठक डाक्नुले ओलीले कुनै अध्यादेश ल्याएर पार्टी फुटाउने या संसद भंग गर्ने तयारी गरेको आशंका उब्जिएको छ ।

सम्बन्धित समाचार