नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ मंसिर ।

नेकपा सचिवालय बैठकमा सहभागी हुन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार दिउँसो १ बजेका लागि सचिवालय बैठक राखिएको छ, त्यसका लागि प्रचण्ड समय अगावै बालुवाटार पुगेका हुन् ।
बैठकको निर्धारित समयअघि नै प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल हुने स्रोतले जानकारी दियो । प्रचण्डका अलावा पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बालुवाटार पुगेका छन् ।
लामो समयको कसरतपछि कात्तिक २८ गते शुक्रवार केही समयका लागि नेकपा सचिवालय बैठक बसेको थियो ।शुक्रवारको बैठकमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न आरोपसहितको राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो ।
विवादका कारण आजको बैठक अन्योलमा परे पनि प्रवक्ता श्रेष्ठले तोकिएको समयमै बैठक बस्ने जानकारी गराएका थिए । स्रोतका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष ओली आजको बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्नेछन् ।
