नेकपा महासचिव पौडेल र उपप्रधानमन्त्री पोखरेललाई भेटेरै प्रचण्डले गरे यस्तो आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल र पार्टी महासचिव बिष्णु पौडेलबीच पार्टी कार्यालयमा छलफल भएको छ। नेकपामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच तीब्र विवाद तथा शक्ति संघर्ष चलिरहेका बेला तीन नेताबीच शुक्रबार दिउँसो भेटवार्ता भएको हो।

कात्तिक २८ गतेको पार्टी सचिवालय बैठकमा प्रचण्डले पेस गरेको १९ पृष्ठ लामो प्रस्तावबाट आक्रोशित भएका प्रधानमन्त्री ओलीले त्यसको जवाफस्वरुप मंसिर १३ गते बस्ने बैठकमा आफ्नो तर्फबाट प्रस्ताव ल्याउने बताएपछि नेकपाभित्रको राजनीति तनावपूर्ण बनेको छ। नेताहरुले प्रचण्डसँग भेट गर्न आग्रह गरेपछि पार्टी कार्यालयमा छलफल राखिएको स्रोतले बतायो।



नेकपाको नौ सदस्यीय सचिवालयमा पाँचजना नेता प्रचण्डको नेतृत्वमा एकजुट हुँदा उपप्रधानमन्त्री पोखरेल र अर्थमन्त्री समेत रहेका महासचिवल पौडेलले ओलीलाई साथ दिइरहेका छन्। छलफलमा आगामी सचिवालयलाई कसरी सौहार्दपूर्ण बनाउने र जारी विवादको कसरी हल गर्ने भन्ने विषयमा छलफल भएको बताइन्छ । भेटमा प्रचण्डले ओलीले चाल्ने गलत कदममा साथ नदिन आग्रह गरेका थिए ।

पछिल्लो समय राष्ट्रपतिसँगको भेटवार्ता बाक्लो बनाएकोले ओली संसद् विघटन गरेर ताजा जनादेश लिने तयारीमा रहेको आशंका प्रचण्ड, माधव नेपाल समूहको रहेको छ । आजको भेटमा पौडेल र पोखरेलसँग प्रचण्डले संविधानले यो विकल्प नदिएको भन्दै ओलीले यस्ता कदम चालेमा प्रतिवाद गर्न आग्रह गरेको स्रोतले बतायो ।

सम्बन्धित समाचार