प्रतिवेदनको लिखित जवाफ नआएसम्म ओलीसँग भेट्दिनः प्रचण्ड

सत्तारुढ नेकपामा देखिएको विवादमा सहमति जुटाउन दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । सोही क्रममा आज नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली निकट मानिने महासचिव बिष्णु पौडेल, ईश्वर पोखरेल र सुवास नेम्वाङले धुम्बाराहीमा छुट्टाछुट्टै भेट गरे ।

भेटमा महासचिव पौडेलले पार्टीभित्रको अवस्था सोचेभन्दा गम्भीर रहेको भन्दै समाधानका लागि सहकार्य आवश्यक रहेको बताएका छन् । त्यसका लागि यसअघि प्रधानमन्त्री ओलीलाई आरोप लगाउदै सार्वजनिक गरेको प्रतिवेदन फिर्ता लिनुपर्ने पौडेलको प्रस्ताव थियो । जवाफमा प्रचण्डले ओलीले आफ्नो प्रतिवेदनको लिखित जवाफ दिने बताएकोले फिर्ता गर्न आवश्यक नरहेको बताएका थिए । साथै प्रचण्डले ओलीको लिखित जवाफ नपढेसम्म उनलाई नभेट्ने अडान राखेका छन् ।



कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले पेस गरेको राजनीतिक प्रस्तावप्रति असन्तुष्ट रहेका प्रधानमन्त्री ओलीले भने प्रचण्डसँग छलफल गर्न खोजिरहेका छन । प्रचण्डले बालुवाटारमा छलफल नगर्ने भन्दै पार्टी कार्यालयमा ओलीनिकट नेताहरुलाई भेटेका थिए । पौडेल र पोखरेलसँग भेटे लगत्तै प्रचण्डले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पनि छलफल गरेका छन् ।

दाहालले नेम्वाङमार्फत ओलीलाई सन्देश पठाउँदै एकताको अन्तिम डोरी चुँडियो भन्ने नठान्न आग्रह गरेको बताइएको छ । प्रचण्डले आफूले केन्द्रीय सचिवालय बैठकमा ल्याएको प्रस्ताव पार्टी विभाजनका लागि नभएको पनि स्पष्ट पारेका छन । आज भेटेका तीनैजना नेतालाई प्रचण्डले ओलीले चाल्ने गैह्रराजनीतिक कदममा भने साथ नदिन आग्रह गरेका थिए ।

सम्बन्धित समाचार