कोरोनाबाट ज्यान गुमाउनेको संख्या लुकाइयो, २ हजार १७९ जना संक्रमितको शव व्यवस्थापन गरेको सेनाको दाबी

विभिन्न देशहरुमा कोरोना संक्रमित र मृतकको संख्या लुकाईएका समाचार बाहिरिरहेका बेला नेपालको तथ्यांकमा पनि आशंका उब्जिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या र नेपाली सेनाले शव व्यवस्थापन गरेको संख्याबीच ठूलो अन्तर देखिएको छ ।

शुक्रबार बिहान १० बजेसम्म नेपाली सेनाको जंगीअड्डालाई विभिन्न पृतनाहरुले उपलब्ध गराएको तथ्यांक अनुसार २ हजार १७९ जना मृतकको शव व्यवस्थापन भइसकेको छ । यही समयमा स्वास्थ्य मन्त्रालयले भने एक हजार २७६ जनाको मृत्यु भएको अपडेट वेबसाइटमा दिएको थियो । यो आधारमा स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको तथ्यांक ९०३ जनाले फरक रहेको पाइएको छ ।



मृतकको संख्यामा तलमाथी भएपछि स्वास्थ्य मन्त्रालयकी सह–सचिव शैलजा भट्टराईको अध्यक्षतामा दुई सरकारी निकायको तथ्यांक कसरी फरक भयो भन्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गरिएको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कार्यदलको प्रतिवेदन पूर्ण रुपमा तयार भइनसकेको बताए ।

सम्बन्धित समाचार