नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ मंसिर ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या एक लाख नाघेको छ । गएको २४ घण्टामा उपत्यकामा एक हजार एक सय सात जना संक्रमित थपिएका छन् । शुक्रबार काठमाडौंमा आठ सय ६३, ललितपुरमा एक सय ७४ र भक्तपुरमा ७१ जनालाई संक्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा अहिलेसम्म ८१ हजार पाँच सय ८५ जनालाई संक्रमण पुष्टि भएको छ । यसमध्ये ५० हजार चार सय १५ जना पुरुष रहेका छन् भने ३१ हजार एक सय ७० जना महिला रहेका छन् । यस्तै ललितपुरमा ६ हजार पाँच सय ७३ जना पुरुष र पाँच हजार दुई सय ९९ जना महिलासहित ११ हजार आठ सय ७२ जनालाई संक्रमण पुष्टि भएको छ ।
यसैगरी भक्तपुरमा चार हजार एक सय १२ जना पुरुष र तीन हजार एक सय ९८ जना महिला गरी अहिलेसम्म सात हजार तीन सय १० जनालाई संक्रमण पुष्टि भएको छ । शुक्रबार देशैभर एक हजार नौ सय ४५ जनामा सङ्क्रमण देखिएसँगै संक्रमितको कुल सङ्ख्या दुई लाख १६ हजार नौ सय ६५ पुगेको छ ।
