ककनी गाउँपालिकामा अध्यक्षबाटै चरम भ्रष्टाचार (भिडियोसहित)

जननिर्वाचित प्रतिनिधि तथा ककनी गाउँपालिकाका अध्यक्षबाटै गाउँपालिकामा जम्मा भएको राहत सामग्री अनियमितता भएको पाइएको छ । कोरोनाबाट प्रभावित आर्थिक तथा सामाजिक रूपमा पिछडिएको वर्गलाई वितरण गर्न भनेर गाउँपालिकामा जम्मा भएको खाद्यसामग्री चामल र तेल पालिका अध्यक्ष मानबहादुर लामाले अवैध रूपमा बिक्री गर्नका लागि ट्रकमा लोड गर्दै गर्दा स्थानीय जनताहरूले थाहा पाई रोकेका छन् ।

गाउँपालिका अध्यक्षबाट नै कोरोना कोषमा जम्मा भएको खाद्यान्न ब्यापारी किरण मानन्धरलाई बेच्न लागेको जानकारी पाएपछि नेपाली कांग्रेस, राप्रपा तथा नागरिक समाजका अगुवाहरूले गाउँपालिका कार्यलय घेराउ गरी अध्यक्ष लामालाई यस विषयमा सोधेपुछ गरेका थिए । ठूलो जनसमूहबाट दवाव आएपछि अध्यक्ष लामाले ‘जान–अन्जानमा आफूबाट गल्ती भएको’ स्वीकार पनि गरेका थिए ।



विभिन्न संघसंस्थाहरूबाट गाउँपालिकाको कोरोना राहत कोषमा २४०० बोरा चामल र धेरै खाने तेल जम्मा भएको थियो । त्यसमध्ये अध्यक्ष लामाले ब्यापारी किरण मानन्धरसँगको मिलेमतोमा १२५ बोरा चामल र ३५ कार्टुन तेल बेच्न ट्रकमा लोड गर्दैगर्दा स्थानीय बासिन्दाले जानकारी पाई नेपाली कांग्रेसका गाउँपालिका सभापति अशोक तामाङको अगुवाइमा घेरा हालेका थिए ।

यसअधि पनि अध्यक्ष लामाले विभिन्न अनियमितता गरेको समाचार बाहिरिएको थियो । आफ्नै जनप्रतिनिधिबाट यस किसिमको ब्रम्हलुट हुनुले जनमानसमा निराशा फैलिएको स्थानीयको भनाइ रहेको छ ।

 

 

सम्बन्धित समाचार