नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ मंसिर ।
चितवनको राप्ती नगरपालिकामा शनिबार नेकपाको नगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार भयो । अतिथिको रूपमा उपस्थित भएका पाण्डेले कार्यक्रममा भाषण गर्दै गर्दा प्रधानमन्त्री केपी ओलीसमर्थक कार्यकर्ताहरूले नाराबाजी गरेका थिए । पछिल्लो समय नेकपाको विवादलाई लिएर खरो अभिव्यक्ति दिने गरेका पाण्डेलाई भएको दुर्व्यवहारलाई लिएर नेकपामा तरङ्ग उत्पन्न भएको छ । नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल निकट मानिने नेता पाण्डेलाई गरिएको दुर्व्यवहारलाई लिएर नेता नेपाल र झलनाथ खनालले विज्ञप्ति निकालेर आपत्ति जनाइसकेका छन् । यसै सेरोफेरोमा रहेर नेता पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंशः
चितवनमा तपाईमाथि दुर्व्यवहार भएछ । खासमा के भएको हो त्यहाँ ?
चितवनमा मेरो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने राप्ती नगरपालिकामा पार्टीको नगर कमिटी बैठक आयोजना गरिएको थियो । मलाई त्यहाँ अतिथिका रूपमा निम्त्याइएको थियो । प्रधानमन्त्रीजीकी जनसम्पर्क सल्लाहकार सीता पौडेलकी भाइबुहारी प्रभा बराल यस नगरपालिकाको मेयर हुनुहुन्छ । उहाँ बैठकमा आउँदा ८-१० जना केटाहरू पनि उहाँसँगै आए । अरूले आसन ग्रहण गरिरहेका थिए, मेयरलाई बीचमा आसन ग्रहणका लागि नाम लिँदा ती केटाहरूले पर्र्र ताली पिटे । उहाँलाई बोल्न उद्घोषकले बोलाउँदा पनि पर्रर ताली पिट्दै थिए । बैठकस्थलमा कानेखुशी पनि गर्दै थिए । यसबाटै उनीहरू किन आएका हुन् भन्ने बुझिन्थ्यो ।
मैले बैठकको उद्घाटन सत्रमा बोल्ने क्रममा पार्टीको कार्यदलले कसरी काम ग¥यो भन्ने कुराहरू राखें । पुष्पलाल होस् या मदन भण्डारीको नाममा, कुनै पनि फाउन्डेसनहरू नबनाउने, त्यसले पार्टीभित्र गुटबन्दीको आधार बन्यो भन्ने हामी कार्यदलका सबैको सहमति हो भन्ने कुरा मैले राखें । यो कुरा हामीले दस्ताबेजमा लेख्यौं, स्थायी कमिटीले निर्णय ग-यो र यो अहिले पार्टीको निर्णय नै भइसक्यो र सबै सदस्यहरूका बीचमा सर्कुलर पुग्या छ । म यिनै कुराहरू भन्दै थिएँ, उनीहरू नारा लगाउन थाले ।
उनीहरूले मदन भण्डारी फाउन्डेसन जिन्दावाद, जबज जिन्दावाद, केपी ओली जिन्दावाद जस्ता नाराहरू लगाए । नाराबाजी भएपछि मेयर पनि आत्तिन थाल्नुभयो । उहाँलाई अरू साथीहरूले तिनीहरूलाई ल्याएर यहाँ होहल्ला गराउने भन्दै गरेको सुनेको थिएँ । त्यसपछि उहाँ झन् आत्तिनुभयो । मचाहिँ उनीहरूले हल्ला गरूञ्जेल हाँसेर बसिरहें ।
मेरो भाषण सकिएको थियो । त्यसपछि अध्यक्षले बोलेर सेसन अन्त्य गर्नुभयो । १ बजे भरतपुरको अर्को कार्यक्रममा जानुपर्ने थियो, हामी त्यहाँबाट हिँड्यौं ।
यसरी नारा लगाउनेहरू को थिए ? चिन्नुहुन्छ ?
चितवन जिल्ला कमिटीका पूर्वअध्यक्ष जगन्नाथ थपलियाका छोरा सुरज थपलियाको नेतृत्वमा नाराबाजी भएको थियो । सुरजका बुबा जगन्नाथजी अहिले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका सल्लाहकार हुनुहुन्छ । नाराबाजीको अगुवाइ गर्ने सुरजका ससुरा दाबा लामा पनि बागमती प्रदेशकै भूमि व्यवस्था सहकारी तथा कृषिमन्त्री हुनुहुन्छ । उनै मन्त्रीका ज्वाइँको अगुवाइमा त्यहाँ नारा लगाउने काम भयो ।
मन्त्री दावाजीकै पीए प्रकाश कालाखेती भन्ने पनि नारा लगाउने समूहमा थिए । दाबाका छोरा पनि त्यहाँ संलग्न रहेको साथीहरूले बताएका छन् । त्यस्तै, केदार आचार्यलाई पनि मैले चिनें । अरूलाई मैले देखेर पनि एक दुईजनाको नाम बिर्सिएँ ।
उनीहरूले किन यस्तो व्यवहार देखाए ? तपाईमाथि भएको यो व्यवहारलाई के भन्न्हुन्छ ?
यो अत्यन्तै गैरराजनीतिक व्यवहार हो । पार्टीको बैठकमा ती नगर कमिटीका सरोकारवाला पनि होइनन् । जगन्नाथको छोरो त अर्को नगरपालिका, खैरहनीको मान्छे हो । राप्ती नगरपालिकाको नगर कमिटीको मान्छे पनि होइन । ऊ त्यहाँको सरोकारवाला मान्छे पनि थिएन ।
यस्तो गैरराजनीतिक व्यवहार गर्नेहरूलाई अनुशासनको कारवाही गर्नुपर्छ । यस्ता मान्छेलाई बोकेर ‘पुस’ गर्ने जुन प्रवृत्ति छ, त्यो पनि गलत कुरा छ । यस्ता व्यक्तिहरूलाई कारवाही गर्नुप-यो । यस्तो प्रवृत्तिलाई प्रोत्साहन गर्नु गलत हो । नेताकै आफन्तहरूलाई त झन् नेताहरूले सम्झाउनुप¥यो नि । केपी कमरेडलाई भेट्दाखेरि बा भनेर हातमा ढोग्नेहरू हुन् उनीहरू ।
तपाईमाथि भएको व्यवहारलाई लिएर नेकपाको विवाद तलैसम्म सरेको प्रष्ट भयो, होइन ?
शीर्ष नेताहरूले नै विवादलाई विस्तार गर्ने काम भएको छ, त्यो गलत छ । आज जबजको नाममा विवादलाई जिल्ला जिल्लामा विस्तार गर्ने काम भएको छ । केन्द्रमा भएका विवादलाई समाधान गर्ने प्रयासमा हामीहरू छौं तर कार्यकर्ताहरू नै यसरी विवादित भए भने यसले पार्टीलाई अतुलनीय क्षति पुग्नेछ ।