नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ मंसिर ।

उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालय-५ रुपाटारमा शनिबार राति १ः१५ बजे अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको छ । अज्ञात समुहले गाउँपालिकाको नागरिक सहायक कक्षमा राखेको बम विस्फोट भएको छ भने अर्को बम विस्फोट भएन।
बम विस्फोट हुँदा गाउँपालिकाको प्रमुख प्रशासकीयअधिकृत, लेखाअधिकृत, उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जनाकारी दिए । विस्फोट हुँदा कार्यालयको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफा लगायतका सामानमा क्षति भएको प्रहरीले जनाएको छ । अहिले घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको एसपी दाहालले जानकारी दिए ।
गाउँपालिकाको केन्द्र सदरमुकाम गाईघाटबाट १०० किलो मिटर उत्तरमा पर्छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक दाहालका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । कटारीबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली त्यहाँ पुगेको उनले जानकारी दिए ।
कार्यालयको मुख्य ढोकामा राखिएको अर्को बम निष्कृय पार्न सदरमुकाम गाईघाटबाट नेपाली सेनाको प्राबिधिक टोली घटनास्थलतर्फ लागेको जिल्लाप्रहरी कार्यालय उदयपुरले जनाएको छ । बम बिष्फोटनबाट क्षतिग्रस्त भवन गाउँपालिकाले भाडामा लिएको महेन्द्ररत्न माध्यामिक विद्यालय रुपाटारको भवन हो । यहाँ गाउँपालिकाले शनिवारदेखि स्वास्थ्य क्षेत्रका लागिआवश्यक पर्ने २७ जना दरबन्दीमा परीक्षा सञ्चालन गर्दै आएको थियो ।
‘पहिलो परीक्षा सकिएकै रातमा बम बिष्फोटन भयो, अरु धेरै परीक्षा सञ्चालन हुन बाँकी थियो’ गाउँपालिका अध्यक्षले भने । उदयपुरकै दुर्गम पालिका भएकाले सुरक्षा निकाय पुग्नलाईसमेत समय लाग्ने उनले जानकारी दिए।
