नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ मंसिर ।

पार्टीभित्रको आन्तरिक विवादले प्रधानमन्त्री पदबाटै राजीनामा दिन बाध्य हुने अवस्था आएपछि प्रधानमन्त्री केपी ओली कांग्रेसलाई फकाउन थालेका छन् । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर उनले सत्ता साझेदारीको प्रस्ताव राखेका थिए । अध्यादेश ल्याएर नेकपा फुटाउने र कांग्रेसको साथमा सरकार सञ्चालन गर्ने ओलीको प्रस्ताव छ । साथै कांग्रेसका सभापतिसँगको भेटमा ओलीले अर्थसहित महत्वपूर्ण ८ मन्त्रालय दिनसकिने बताएपछि देउवाले पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएको स्रोतको भनाई छ ।
नेकपाको आगामी सचिवालयमा कार्यकारी अध्यक्ष प्रचण्डले आफूलाई लगाएका आरोपको लिखित जवाफ दिने भन्दै १० दिनको समय मागेका ओलीले यो समयलाई प्रतिवेदन लेख्ने र पार्टी विवाद समाधान गर्ने भन्दा पनि प्रचण्ड–नेपाल समूहलाई अलपत्र पार्ने भन्दै पार्टी फुटाउने तयारीमा लागेको देखिन्छ । पार्टी पनि फुटाउने र आफ्नो सरकार पनि कायमै राख्न सकेमा प्रचण्ड, नेपाललगायत आफूइतरका शक्तिहरूको राजनीतिक करियर ध्वस्त हुने बुझाइ ओलीमा रहेको देखिन्छ । कांग्रेसको साथ पाएमा यो सबै सम्भव हुने भन्दै ओली कांग्रेससँग निकै लचक भएर वार्ता गरिरहेका बताइन्छ ।
ओलीका पछिल्ला गतिविधि नियालीरहेका प्रचण्ड–नेपाल समूह पनि ओली सकेसम्म पार्टीलाई फुटबाट जोगाउने र नसकेमा पनि ओलीलाई कुनै पनि हालतमा सरकार सञ्चालनको लागि बहुमत जुटाउन नसक्ने अवस्थामा पुर्याउने रणनीतिमा छ । ओलीका गतिविधि पार्टी हितमा नरहेको भन्दै प्रचण्डले ओलीनिकटका महासचिव विष्णु पौडेल र सुवास नेम्वाङलाई भेटेरै पार्टी एकताविरोधी गतिविधिमा साथ नदिन आग्रह गरेका थिए । साथै शनिबार नै प्रचण्डले पछिल्लो विवादमा ओली कित्तामा देखिएका गृहमन्त्री रामबहादुर थापालाई पनि ओलीको साथ छोड्न आग्रह गरेका थिए ।
प्रचण्डले थापासँग कि ओलीतिर कि आफूतिर खुलेर लाग्न आग्रह गरेका थिए । ढुलमुले शैलीले लडाइँ वारपार नहुने र यसरी सधैँ रहिरहन नसकिने भन्दै आफ्नो धार क्लियर गर्न प्रचण्डले थापालाई आग्रह गरेका थिए । पार्टी एक रहँदासम्म ओलीलाई साथ दिने र फुट्ने अवस्था प्रचण्डको साथ रहने बताएका थापाले प्रचण्डलाई अझै कुनै स्पष्ठ धार नदेखाएको बताइन्छ ।
सरकारमा सहभागी हुनेबारे कांग्रेसमा २ धार
सरकारमा सहभागी हुनेबारे नेपाली कांग्रेसमा भने दुई धार देखिएको छ । सभापति देउवा र उनीनिकट मानिएका केही नेताहरू सरकारमा जाँदा पार्टीलाई फाइदा हुने पक्षमा देखिएका छन् । आफूहरू सरकारमा सहभागी हुँदा नेकपा फुट्ने अवस्था आउँछ भने त्यसमा कांग्रेस तयार हुनुपर्ने सभापतिको बुझाइ छ । उनले ओलीसँगको भेटमा पनि तपाईको पार्टी फुटेछ भने साथ दिउँला भन्ने जवाफ दिएका थिए ।
तर नेपाली कांग्रेसकै एक प्रभावशाली नेता अर्जुननरसिंह केसीले कांग्रेस कुनै हालतमा सरकारमा सहभागी हुन नहुने बताएका छन् । ओलीसँगै मिलेर सरकारमा सहभागी हुनु कांग्रेसको निम्ति आत्महत्या जस्तै हुने केसीको टिप्पणी छ । ओली नेतृत्वको सरकार भ्रष्टाचारका कारण निकै बदनाम भएकोले बदनामीको भारी बोक्न कांग्रेस सरकारमा सहभागी हुन नहुने उनले समाजिक सञ्जालमा लेखेका छन् । नेकपाको आन्तरिक विवादमा कांग्रेसले सरोकार लिन नहुनले नेता केसीको भनाई छ ।
त्यसैगरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि नेपाली कांग्रेस सरकारमा सहभागि हुन नहुने बताएका छन् । जनताले ५ वर्षको लागि प्रतिपक्षमा रहने मतादेश दिएको भन्दै आगामी निर्वाचनयता कांग्रेस सरकारमा सहभागी हुन नहुने उनको धारण रहेको छ ।
