नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ मंसिर ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद बढ्दै जाँदा पार्टी फुट्ने सम्भावना पनि उत्तिकै देखिएको छ । नेकपा फुटेमा कांग्रेसलाई साथ लिएर सरकारमा रहिरहने रणनीति प्रधानमन्त्री केपी ओलीको रहेको छ । त्यसो त ओली सरकारमा सहभागी हुन नहुँने आवाज पनि कांग्रेसमा उठिरहेको छ । तर नेकपा फुटेको अबस्थामा कुनै न कुनै पक्षलाई समर्थन गर्दै कांग्रेस सरकारमा सहभागी हुनैपर्ने संसद्को अंकगणितले देखाउँछ । नेकपा फुटेमा एउटा समूह प्रतिपक्षमा रहने निश्चित भएकोले कांग्रेसविना संसदमा बहुमत नजुट्ने देखिएको हो ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा सामान्य बहुमतका लागि एक सय ३८ सांसद चाहिन्छन् । तर, हाल प्रतिनिधिसभामा सभामुखसहित दुई सय ६९ जना सांसद कायम छन्। आजको दिनमा बहुमत भनेको एक सय ३५ सांसद हो । यो अंकगणितलाई हेर्दा कांग्रेस (६१) सँग मिलेर सरकार बनाउन नेकपाका कुनै पनि समूहलाई ७४ सांसदको खाँचो हुन्छ।
हाल एक सय ७३ सांसद रहेको नेकपामा दुवै समूहसँग कम्तीमा ७४ सांसद छन् । यद्यपि, आफूहरूसँग बढी सांसद भएको दाबी प्रचण्ड–माधव समूहको छ । तर, संसदीय दलमा आफ्नो पक्षमा पार्न ओलीको प्रयास पनि जारी छ।
संसद्मा नेकपाका १७४ जना (हाल कायम १७३, सभामुखसहित एकको निधन), कांग्रेस– ६३ (अब कायम ६१, दुई निलम्बित), जनता समाजवादी पार्टी– ३४ (हाल ३२ कायम, दुई निलम्बित), राष्ट्रिय जनमोर्चा–१, नेपाल मजदुर किसान पार्टी– १, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा–१ र स्वतन्त्र–१ सांसद छन्।
चार सांसद (विजय गच्छदार, रेशम चौधरी, अफताब आलम, हरिनारायण रौनियार) निलम्बित छन् । नेकपाका एक सांसद (सानु शिवा) को मृत्यु भएको छ।
