
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकाले रत्नपार्कको नाम फेर्न गरि गरेको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । राप्रपाका अध्यक्षत्रय पशुपतिशम्सेर जबर, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले सोमबार एक विज्ञप्ति जारी गर्दै दशकौंदेखि नामाकरण भएर आएका संरचनाको नाम आज अचानक बदल्नु उचित नभएको बताएका छन् ।
उनीहरुले यो नामाकरणले नेपालको मौलिक संस्कृतिका एक धरोहरको अवमुल्यन गरेको ठहर गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपाल राष्ट्र निर्माण र नेपालको राष्ट्रिय एकता र राष्ट्रियताको संरक्षणमा वडा महाराजा पृथ्वी नारायण शाह, राजा महेन्द्र र बीपी कोइराला अग्रस्थानमा रहेको ठान्दछौं । उनै राजा महेन्द्रको रानी मुमा वडामहारानीको नाममा झण्डै आधा शताब्दीदेखि नामाकरण गरिएको रत्न पार्कको नाम बदल्नु दुई कारणले अनुचित ठान्दछौं । पहिलो यो कार्यले मुमा बडामहारानी रत्नप्रति अन्याय भएको छ । दोश्रो, यो नामाकरणले नेपालको मौलिक संस्कृतिका एक धरोहरको अवमुल्यन गरेको छ ।’
