नेकपा विवादले मर्यादाको सीमा नाघेको छ: महासचिव पौडेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताएका छन् । पार्टीभित्र यसअघिको भन्दा भिन्न खालको अन्तरविरोध रहेको उनको भनाइ छ । मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले यसपटकको विवाद कल्पना गरेको भन्दा पृथक् रहेको र मर्यादाको सीमा नाघेकोसमेत बताए । अभिव्यक्त र लिखतमा मर्यादाका सीमा नाघेको उल्लेख गर्दै उनले पार्टीभित्रको छलफल र बहसलाई मर्यादामा फर्काउनुपर्ने बताए ।

पार्टीभित्र अहिले मर्यादामा छलफल र बहसलाई फर्काउने कोसिस भइरहेको उनको भनाइ छ । पार्टीभित्रको विवाद हल गर्न विगतमा भूमिका खेल्दै आएका पौडेलले यसपटकको अन्तरविरोध बुझ्न नसकेको बताए । ‘पार्टीभित्र त्यस्तो के सुनामी आयो, भूकम्प, ज्वालामुखी फुट्यो नेकपा आज यसरी सार्वजनिक भइरहेको छ,’ उनले भने, ‘अन्तरविरोध हल गर्न म लागिपर्नेछु ।’



विगतमा स्थायी कमिटीबाट भएका निर्णय कार्यान्वयनतर्फ ध्यान नजाँदा यो स्थिति देखापरेको धारणा राख्दै उनले लिकबाट तल झर्न खोजेकालाई लिकमा चढाएर अगाडि बढाउने प्रयास भइरहेको बताए ।

सम्बन्धित समाचार