नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ मंसिर ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गतिलै जवाफ दिने गरी जवाफी दस्तावेज तयार गरेका छन् । उनले प्रचण्डलाई जघन्य अपराधी र मानवअधिकार उल्लंघनकर्ताका रूपमा ‘हेग’ मा पुर्याउने धम्कीसहितको दस्तावेजलाई अन्तिम रूप दिने तयारीमा रहेको बताइन्छ । प्रचण्डले कात्तिक २८ गते सचिवालय बैठकमा पेश गरेका प्रस्तावमा ओलीलाई भ्रष्टाचारलगायत गम्भीर आरोप लगाएका थिए ।
प्रचण्डले पेश गरेको सो दस्तावेजलाई वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजीसहित बहुमत सचिवालय सदस्यले सामर्थन गरेपछि ओली अप्ठ्यारोमा परेका थिए । उनले गत मंसिर ३ गते बसेको सचिवालय बैठकमा प्रचण्डको दस्तावेजको जवाफ लिखित रूपमा दिने भन्दै १० दिनको समय मागेका थिए । अब नेकपा सचिवालय बैठक शनिबार बस्दैछ । सचिवालय बस्ने दिन नजिकिँदै गर्दा प्रचण्डलाई ओलीले लेखेको जवाफी दस्तावेजका केही अंशहरू बाहिरिएका छन्, जुन जवाफलाई हेर्दा नेकपाको जारी विवाद समाधानभन्दा पनि पार्टी फुटलाई प्रश्रय दिनेखालको रहेको अनुमान लगाउन सकिन्छ ।
प्रचण्डले सचिवालयमा पेश गरेको दस्तावेजलाई आफ्नो राजनीतिक करियर नै धरापमा पर्ने काम गरेको आरोप लगाएका ओलीले तयार गरेको जवाफले भने प्रचण्डलाई पनि थचक्कै पार्ने खालको रहेको बुझिएको छ । पार्टी एकताको क्रममा प्रचण्डले गरेको बार्गेनिङदेखि स्थानीय निर्वाचनमा छोरीलाई चुनाव जिताउन मतपत्र च्यातेकासम्मका विषय समावेश छन् । त्यसैगरी जवाफी दस्तावेजमा ओलीले २०७४ साल असोज १७ गते आफूहरू दुबै चुनावी गठबन्धन र पार्टी एकताको सहमतिमा पुग्नु राजनीतिक तस्वीर बदल्ने दूरगामी घटना भएको तर एउटै चुनाव चिह्न सूर्यमा लड्ने भन्दै गरेको सहमति प्रचण्डले २४ घण्टा नबित्दै तोडेको आरोप पनि लगाएका छन् । प्रचण्डले उक्त सहमति नतोडेको भए नेकपाको सजिलै दुईतिहाई मत आउने ओलीले उल्लेख गरेका छन् ।
ओलीले एकताको तीन महिना नबित्दै भारतमा गएर आलोपालो सहमतिको खुलासा गरेर राजनीतिक अस्थिरताको सन्देश दिएको आरोप पनि प्रचण्डमाथि लगाएका छन् । साथै, ओलीले अघिल्लो पटक आफूले नेतृत्व गरेको सरकारको बाधक प्रचण्ड नै भएको प्रस्तावमा उल्लेख गरेका छन् । उनले नाकाबन्दी जस्तो प्रतिकूल अवस्थामा रााष्ट्रिय हितमा युगान्तकारी काम गरेको आफ्नो सरकार प्रचण्डले ढाल्न खोजेको आरोप पनि लगाएको बुझिएको छ ।
समग्रमा ओली प्रचण्डलाई हेगको नाममा तर्साएर सचिवालयमा पेश गरेको दस्तावेज फिर्ता लिन र माफी माग्न बाध्य बनाउने योजनामा देखिन्छन् । प्रचण्डले खुल्लामञ्चमैं जनयुद्धका क्रममा मारिएका १७ हजार नागरिकमध्ये आफूले ५ हजारको जिम्मा लिने भन्ने अभिव्यक्तिलाई हतियार बनाउने सूत्रको दावी छ र उक्त अभिव्यक्ति नै प्रचण्डलाई हेगमा लैजान पर्याप्त भएको विषय दस्तावेजमा समावेश गर्ने ओलीको तयारी छ । साथै माडी घटनाले पनि प्रचण्डलाई सहजै अन्तर्राष्ट्रिय अदालतसम्म लान सकिने ओलीको बुझाइ रहेको छ ।
ओलीलगायत उनी पक्षधरका नेताहरू सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, ईश्वर पोखरेल, विष्णु रिमाललगायतले बुधबार मध्यरातसम्म तयार परेको दस्तावजको खेस्रा नै ४० पृष्टको रहेको बताइन्छ । त्यसलाई शुक्रबार थप तथ्यहरू समावेश गरेर अन्तिम रूप दिने तयारीमा ओली रहेका छन् ।
