नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ मंसिर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन् । आफूसँग विहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलासँगको कुराकानीमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पुर्याइदिन आग्रह गरे।
भेटको सुरुमै सचिव श्रृङ्गलाले आफ्ना प्रधानमन्त्री मोदीको दुई देशबीचको आपसी सम्बन्धलाई ‘राम्रो’ बनाएर अगाडि लैजान चाहेको सन्देश प्रधानमन्त्रीलाई सुनाएको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए । दुवै देशका प्रधानमन्त्रिस्तरका सकारात्मक सन्देश आदानप्रदानले सीमा विवादलगायत विषयमा आउँदो दिनमा वार्ता र छलफल तथा आपसी उच्चस्तरीय भ्रमणको आदानप्रदान हुने वातावरण सिर्जना भएको छ । सल्लाहकार डा भट्टराईका अनुसार भेटमा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘हामी दुई देशबीचको आपसी र बहुआयामिक सम्बन्धलाई एक्काइसौँ शताब्दीअनुकूल तथा युगसुहाउँदो हिसाबले थप गतिशील र सुमधुर बनाउन चाहन्छौँ ।’
सीमालगायत विवादित विषयमा वार्ताका माध्यमबाट शान्तिपूर्णरुपमा समस्याको समाधान गर्नुपर्छ भन्नेमा आफूहरु स्पष्ट भएको प्रधानमन्त्री ओलीले बताएका थिए । भारतको गएको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन गरी शुभकामना दिएका थिए । वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले आफूले नेपालमा विशेष दूत पठाउने जनाएका थिए ।
प्रधानमन्त्री ओलीले सचिव हर्षवर्धनसँगको भेटमा आपसी विवादका विषय समाधान भएपछि सम्बन्धमा नयाँ उचाइ प्राप्त हुने विश्वास व्यक्त गर्दै नेपालको भूभाग कुनै पनि छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिनेमा नेपाल स्पष्ट रहेको अवगत गराए । नेपाल तटस्थ रही कसैको पनि ‘कार्ड’ का रुपमा प्रयोग नहुने उनले जनाए ।
भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नयाँ राजनीतिक नक्शामा समावेश गरेपछि नेपालले आपत्ति जनाउँदै आफ्नो भूमिलाई समेटेर नयाँ नक्शा जारी गरी त्यसलाई सङ्घीय संसदबाट पारित गरेर संविधानको अनुसूचीमा समावेश गरेको थियो ।
त्यसपछि दुई देशबीच औपचारिक वार्ता नभएका स्थितिमा पछिल्ला समयमा भारतीय पक्षबाट नेपालका भएका विभिन्न भ्रमण र भेटवार्ताले वातावरण थप सहज हुँदै गएको छ । सचिव श्रृङ्गलाभन्दा अघि गएको महिना भारतीय प्रधानमन्त्री मोदीका विशेष दूतका रुपमा गुप्तचर संस्थाका प्रमुख सामन्तकुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गर्नुभएको थियो ।
सचिव श्रृङ्गलाले दुई देशबीचको सम्बन्धलाई थप सकारात्मक बनाउँदै परिणामूलक बनाउन पहल गर्ने विश्वास दिलाएका थिए । विहीबार नै नेपाल आएका सचिव शृङ्गलाले यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरेका थिए थियो भने दुई देशका परराष्ट्र सचिवस्तरीय औपचारिक वार्ताको नेतृत्व गरेका थिए।
