नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ मंसिर ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोड्न तयार रहेको संकेत गरेका छन् । इलेक्टोरल कलेजले जो बाइडेनलाई अमेरिकाको आउँदो राष्ट्रिपतिको रुपमा औपचारिक रुपमा निश्चित गरेमा आफूले ह्वाइट हाउस छोड्ने ट्रम्पले बताएका हुन् ।
नोभेम्बर ३ मा भएको चुनावमा जो बाइडेन विजयी भएका छन् र उनको जितलाई औपचारिकता प्रदान गर्ने क्रममा राज्यहरु रहेका छन् । तर ट्रम्पले भने बिना कुनै ठोस प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् ।
ट्रम्पले विहीबार पत्रकारसँग हार स्वीकार गर्न ‘कठिन’ हुने बताएका छन् । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिनेमा बाइडेनले ३०६ मत पाउने निश्चित भएको छ । ट्रम्पको पक्षमा २३२ इलेक्टोरल कलेज मत परेको छ ।
चार वर्ष पहिले पपुलर मत ९कुल मत० मा हिलारी क्लिन्टन भन्दा झण्डै ३० लाख मतले पछि परेर पनि ट्रम्पले ३०६ इलेक्टोरल कलेज मत पाएका थिए र आफ्नो जितलाई उनले ‘ल्याण्डस्लाइड’ का रुपमा परिभाषित गरेका थिए । बाइडेन कुल मतमा ६० लाख भन्दा बढिको अग्रता लिएका छन् ।
अहिलेसम्म ट्रम्पको कानूनी टिमले दायर गरेका तीन दर्जन मुद्दा खारेज वा विपक्षमा फैसला भएको छ । ती सबै मुद्दाको फैसलामा प्रमाण नभएको न्यायाधीशहरुले उल्लेख गरेका छन् । इलेक्टोलर कलेज मतले डिसेम्बर १४ मा औपचारिकता पाएपछि बाइडेनले जनवरी २० मा शपथ लिने छन् ।