नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ मंसिर ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक अपराह्न १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिने तयारीमा छन् । त्यसैले पनि आजको नेकपा सचिवालय बैठकलाई चासोपूर्वक हेरिएको छ ।
प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाइ राख्न लागेका हुन् । ओलीले प्रचण्डलाई जवाफ फर्काउनुको साथै केही आरोप र धम्की पनि दस्तावेजमा समावेश गरेको बताइन्छ ।
स्रोतका अनुसार ओलीले आफ्नो दस्तावेजमा प्रचण्डलाई युद्धअपराधिको रुपमा चर्चा गरेका छन् । साथै उनलाई हेगसम्म लानसक्ने धम्की पनि दस्तावेजमा समावेश गरेको बताइनछ । तर प्रचण्ड समूह भने ओलीको दस्तावेज पढेर मात्र नयाँ रणनीति तय गर्ने तयारीमा छ ।
गत मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो । सो बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने जनाएका थिए । पछिल्लो समय दुवै अध्यक्ष र पक्षधरबीचको असमझदारी चुलिएर पार्टी एकतामै गम्भीर संकट देखा परेको अवस्था छ ।
