विमानस्थलमा चिनियाँ रक्षामन्त्रीलाई पाखुरा जोडेर स्वागत गरे गृहमन्त्री थापाले

समकक्षी नभएपछि चिनियाँ रक्षामन्त्रीलाई नेपालका गृहमन्त्रीले विमानस्थलमा स्वागत गरेका छन् । नेपालको औपचारिक भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेई फेङ्हेलाई गृहमन्त्री रामबहादुर थापाले स्वागत गरेका हुन् ।

रक्षा मन्त्रालयल प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालेका छन् । चिनियाँ रक्षामन्त्री फेङ्हीलाई स्वागत गर्ने क्रममा गृहमन्त्री थापाले पाखुरा जोडेका छन् । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो समय हात मिलाउने चलन हराउँदै गएको छ ।



चिनियाँ रक्षामन्त्रीले बायाँ र नेपालका गृहमन्त्रीले दायाँ पाखुरा जोडेका हुन् । चिनियाँ रक्षामन्त्रीले हातमा ग्लोभ्स लगाएका छन् भने नेपालका गृहमन्त्रीले हातमा ग्लोभ्स लगाएको देखिँदैन । गत वर्षको असोजमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि रक्षामन्त्री फेङ्ही नेपाल भ्रमण गर्ने उच्च चिनियाँ अधिकारी हुन् ।

रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट गरे ।

सम्बन्धित समाचार