नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ मंसिर ।

केशरबहादुर विष्ट अध्यक्ष रहेको राष्ट्रिय शक्ति नेपालले माइतीघर मण्डलामा अहिले बिहानको ११ः३० बजेदेखि प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा सनातन हिन्दू अधिराज्य–कायम गर, राष्ट्रिय एकता– जिन्दावाद, सामाजिक सदभाव– कायम गर, संघीय व्यवस्था– खारेज गर, भ्रष्टाचारीलाई– कारवाही गर आदि प्लेकार्ड बोकेका मानिसहरूको व्यापक उपस्थिति रहेको थियो ।
जुलुसले ‘राजा आऊ, देश बचाऊ’ जस्ता नारा पनि लगाएको थियो । ‘नेताहरूको लीलाबाट वाक्क भइयो, बरू राजा नै ठीक रहेछन्’ नुवाकोट घर बताउने एक सहभागीले भने । उनको निष्कर्ष थियो– संघीयता नेपालका लागि आवश्यक रहेनछ ।
प्रहरीको बाक्लै उपस्थितिबीच पनि राष्ट्रिय झण्डा बोकेका सयौं व्यक्तिहरू उत्तेजित भएर नारा लगाइरहेका थिए । स्मरणीय के छ भने यही प्रदर्शनलाई लक्ष्य गरेर नेपाल सरकारका प्रवक्ताले राजावादी भेलामा सहभागी नहुन सार्वजनिक अपील पनि गरेका थिए ।

