नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ मंसिर ।

खानेपानीमन्त्री विना मगरले चुनावी प्रतिबद्धता पूरा गर्ने बताएकी छिन् । सोमबार लालझाडी गाउँपालिकास्थित शंरकपुर अस्पताल भवनको शिलान्यास कार्यक्रममा मन्त्री मगरले चुनावमा जनतासँग गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने बताएकी हुन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित मगरले चुनावमा जनतासँग गरेका केही वाचा कार्यान्वयन भएको बताइन् । ‘हामीले उतिवेला जनतासामु गरेका केही प्रतिबद्धता पूरा भइरहेका छन्,’ उनले भनिन्, ‘केही अझै बाँकी रहेका छन्, तिनीहरूलाई पनि क्रमशः पूरा गर्छौँ ।’
मन्त्री मगरले पार्टीपंक्ति र प्रतिपक्षीसहित जनताको साथसमर्थनमा भौतिक पूर्वाधारतर्फका योजनाले गति लिएको बताइन् । ‘यस निर्वाचन क्षेत्रमा विकासका आयाम थपिँदै छन्,’ उनले भनिन्, ‘यो सबैको सहयोग र समर्थनले भएको हो ।’ मन्त्री मगरले क्षेत्र र प्रदेशकै विकासका लागि संघीय सरकारका तर्फबाट आफूले पहल गरिरहेकोे र दिगो विकास र समृद्धिका लागि तीनै तहका सरकार उत्तिकै जिम्मेबारी हुनुपर्ने बताइन्।
मन्त्री मगरले केही योजना जस्तै खानेपानी, सडक, शिक्षा, कृषि, रोजगारी स्वास्थ्य, पुलपुलेसालगायतले गति लिएको बताउँदै बाँकी योजनाको कामसमेत अघि बढाइने बताइन्।
