राजावादीसँग डराएका हुन् प्रधानमन्त्री ?, कहाँबाट आयो सुरक्षा ‘थ्रेट’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केन्द्रीय कार्यालय धुम्बाराहीबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सुरक्षा ‘थ्रेट’ बढेको भनेपछि महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक बालुवाटारमा डाकेका थिए ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँचजना सचिवालय सदस्यहरु धुम्बाराहीमै बैठक बस्‍नु पर्ने अडानमा रहे पनि प्रधानमन्त्री ओलीले नमानेपछि बालुवाटारमै बैठक बस्यो । पछिल्लो केही दिनयता राजावादी र हिन्दुवादी संगठनका सदस्यहरुले देशका अन्य स्थानसहित काठमाडौंमा समेत आफ्ना गतिविधि तीव्र पारिरहेका बेलामा सुरक्षा चुनौती भएको भन्दै धुम्बाराहीबाट बैठक बालुवाटारमा सारिएको हो।



ओलीले महासचिव पौडेलमार्फत धुम्बाराहीमा बैठक बस्‍नै नसक्ने बताएपछि सबै नेताहरु बालुवाटार आउन लागेका हुन्। तर प्रचण्डले बैठक धुम्बाराहीमै राख्‍नुपर्ने बताएका थिए।

उक्त बैठक सुरक्षााका दृष्टिले बालुवाटारमै राख्‍दा उचित हुने सुझाव सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले पनि दिएको बताइएको छ। तर यसबारेमा नेकपा सचिवालयका नेताहरुले केही धारणा व्यक्त गर्न चाहेनन्।

यता नेपाल प्रहरीका एक उच्च अधिकारीले काठमाडौंमै त्यस्तो कुनै सुरक्षा चुनौती नरहेको बताएका छन्। ती उच्च अधिकारीले केही समूहले सडकमा प्रदर्शन गरे पनि त्यसकै आधारमा नेताहरुमै थ्रेट भएको मान्‍न नसकिने तर्क गरे।

सम्बन्धित समाचार