नेकपाको संकट समाधानका लागि ओली बैठकमा अनिवार्य उपस्थित हुनुपर्छः प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको संकट समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा अनिवार्य उपस्थित हुनुपर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्। बुधबारको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओली अनुपस्थित भएपछि आजको सचिवालय बैठक केही समय मात्रै बसेर उठेको उनले जानकारी दिएका छन्। ‘आजको बैठकमा अध्यक्ष ओली उपस्थित हुनु भएन। पार्टीमा देखा परेको विद्यमान समस्या समाधानका लागि उहाँको उपस्थितिमा छलफल गर्नु उचित हुन्छ’, उनले भने, उहाँलाई आगामी बैठकमा अनिवार्य उपस्थितिसहितको अनुरोध गरेका छौँ।’



अब आगामी बैठक २० गते १ बजे बस्ने उनले बताए। ‘अब सचिवालयको बैठक आगामी २० गते बस्छ। र, भोलिका लागि बोलाइएको स्थायी कमिटीको बैठक २१ गते बस्ने निर्णय भएको छ’, उनले भने।

पार्टी अहिले गम्भीर संकटमा छलफल र बहस प्रक्रिया अघि बढाएर निर्णय लिन उचित हुने उनको तर्क छ। ‘अहिलेको समस्या समाधान गर्नका लागि छलफल र बहस आवश्यक छ। त्यसका लागि अध्यक्ष ओली आउनुपर्छ,’ उनले भने, ‘उहाँ आउनु भएन भने के हुन्छ भन्ने हामी सोच्नै चाहदैनौं।’

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको प्रस्तावमाथि छलफल गर्नका लागि मंगलबार पनि सचिवालय बैठक बसेको थियो। मंगलबारको बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि बताएका थिए।

सम्बन्धित समाचार