नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ मंसिर ।

बुधबारको सचिवालय बैठक स्थगित भए पनि प्रधानमन्त्री केपी ओली समूहको बैठक बालुवाटारमा बसेको थियो । ओली बैठकमा उपस्थित नभएपछि नेकपा सचिवालय बैठक मंसिर २० सम्मको लागि स्थगित गरिएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल बहुमतको आडमा पेलेरै अगाडि बढ्ने तयारी गरेपछि ओली समूह थप रणनीति तय गर्न व्यस्त छ । हिजोको बैठकमा पनि उनीहरूले प्रचण्ड नेपाल समूहको दवाव कसरी सामना गर्ने भन्ने विषयमै केन्द्रीत रहेर छलफल गरेका थिए ।
छलफलको क्रममा विभिन्न विकल्पमा छलफल भएको स्रोतले बतायो । कुनै एक पदबाट राजीनामा नदिएसम्म जारी विवाद समाधान नहुने देखिएकोले एक पदबाट राजीनामा दिँदाको अवस्थामा आफूहरूको राजनीतिक अवस्था के हुने भन्नेमा पनि छलफल भएको बताइन्छ । प्रचण्ड–नेपाल समूहले आफूले कुनै एक पदबाट राजीनामा दिएको खण्डमा प्रधानमन्त्रीबाट राजीनामा दिँदा प्रचण्ड प्रधानमन्त्री बन्ने र पार्टी अध्यक्षबाट राजीनामा दिँदा नेपाल अध्यक्ष बन्ने सहमति गरेको अवस्थामा प्रधानमन्त्रीबाट भन्दा पार्टी अध्यक्षबाट राजीनामा दिएर विवादको अन्त्य गर्नसकिने सुझाव ओलीलाई उनीनिकट नेताहरूले दिएका थिए । त्यसो गर्दा नेपाल अध्यक्ष हुने र जारी विवादबाट प्रचण्डले कुनै फाइदा उठाउन नसक्ने उनीहरूको राय थियो ।
तर ओलीले भने आफूले कुनै एक पदबाट मात्र राजीनामा दिए पनि प्रचण्ड–नेपालको हाइट बढ्ने भन्दै बाँकी कार्यकाल सरकार चलाउन पनि उनीहरूले सहज वातावरण नबनाउने निष्कर्ष निकालेका थिए । आफूले राजीनामा दिएपछि पनि पार्टीभित्र उनीहरूको बहुमत त कायमै रहन्छ । यस्तो अवस्थामा पछि सरकारले गर्ने निर्णयमा पनि हस्तक्षेपको सामना गर्नुपर्ने हुन्छ । त्योभन्दा जारी विवाद महाधिवेशनले हल गर्ने भन्दै टार्ने र बहुमतकै बलमा कारवाही गर्ने अवस्था आएमा अध्यादेश ल्याएर पार्टी फुटाउने र कांग्रेससँगको सहकार्यमा सरकार चलाउँदा आफूहरूको जित हुने निष्कर्ष ओलीले सुनाएका थिए ।
साथै ओलीले पार्टी फुटाउने अवस्थामा नेकपा मात्र नभएर जनता समाजबादी पाटीलाई पनि फुटाउन सकिने योजना सुनाएको स्रोतले बतायो । जसपामा पनि बाबुराम भट्टराई र राजपाबाट आएका केही नेतारूबीच विवाद रहेको भन्दै सरकारमा सहभागिताको लागि आकर्षक मन्त्रालयको लोभ देखायो भने जसपा फुट्ने निष्कर्ष ओलीको थियो । जसपामा विद्रोह गरेर आएको शक्तिसँग निर्वाचनसम्म पार्टी एकता नै गर्न सकिने विषय ओलीले राखेका थिए । ओलीले बुधबार आफूनिकटका नेताहरूसँग गरेको ब्रिफिङ हेर्दा नेकपा फुट्ने सम्भावना बढी रहेको स्रोतको दाबी छ ।
कांग्रेसले साथ देला त भन्ने नेताहरूको जिज्ञासामा ओलीले कांग्रेस सभापतिले नेकपा फुटेको अवस्थामा साथ दिनेबारे विश्वस्त गराएको ओलीले बताएका थिए । कांग्रेसले चुनावी सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने शर्तमा सरकारमा सहभागी हुन तयार भएको ओलीको भनाई थियो । अहिलेदेखि निर्वाचनसम्म प्रचण्ड–नेपाल समूहलाई प्रतिपक्षमा पुर्याउन सकेमा जनतामाझ उनीहरूलाई नङ्ग्याउन सकिने ओलीको बुझाइ छ । बाँकी कार्यकालमा सरकारमा रहेर राम्रो काम गर्न सकेमा आफ्नो साख फिर्ता गर्न सकिने भन्दै नेकपाको जारी विवादलाई कता लैजाने भन्ने जिम्मा प्रचण्ड–नेपाल समूहलाई नै दिने निष्कर्षमा ओली पुगेका स्रोत बताउँछ ।
