केपी ओली पार्टी फुटाउने र संसद् विघटन गर्नेतर्फ लाग्नुभयो : वामदेव गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनतर्फ अग्रसर भएको आरोप लगाएका छन् । विहीबार निवासमा भेट्न आएका युवा विद्यार्थीसँगको कुराकानीमा नेता गौतमले प्रधानमन्त्री ओली पार्टी एकता जोगाउन भन्दा पनि विभाजनतर्फ अग्रसर भएको जिकिर गरे । उपाध्यक्ष गौतमले बैठकमा दुईजना अध्यक्षको छुट्टाछुट्टै दस्तावेज पेस भएको र ती प्रस्तावहरू छलफलद्वारा टुङ्गो लगाउनुपर्ने बताए।

‘सचिवालयमा भएन भने स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा जान्छ,’ गौतमको भनाइ उद्धृत गर्दै अनेरास्ववियूका विद्यार्थी नेता माधव पन्तले भने । आफू एकताकै पक्षमा भएको र विद्यार्थी नेताहरू पनि एकता जोगाउनका लागि लाग्नुपर्ने नेता गौतमले बताए । उनले भने, ‘तपाईं विद्यार्थी नेताहरू पनि एकता जोगाउनका लागि लाग्नुस् । म पूरा रूपमा एकताकै पक्षमा छु। मैले आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका खेलिरहेको छु ।’ गौतमले प्रधानमन्त्रीले बैठकमै नआउने, बैठक बहिष्कार गर्ने गरेर कम्युनिस्ट विधि, आचरणविपरीत व्यवहार प्रदर्शन गरेको आरोप लगाए ।



‘प्रधानमन्त्री ओली बैठकमै नआउने, बैठक बहिष्कार गर्ने यो कम्युनिस्ट विधि, आचरणअनुसार भएन,’ नेता गैतमले भने । प्रधानमन्त्री ओली सङ्कटकाल लगाउने, संसद् विघटन गर्नेतर्फ लागेको पनि नेता गौतमले आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीको शैली हेर्दा पार्टी मिलाउनुपर्छ । एकता बचाउनुपर्छ भन्ने छैन, सङ्कटकाल लगाउने, संसद् विघटन गर्नेतर्फ उहाँ लाग्नुभएको छ ।’

सम्बन्धित समाचार