
नेकपाभित्रको विवाद तीव्र भइरहेका बेला त्यसको असर तलसम्म पर्न थालेको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षधर युवा-विद्यार्थीले शुक्रबार राजधानीमा छुट्टै भेला गरेका छन्।
भेलामा नेकपा बागमती प्रदेश इन्चार्ज एवम् स्थायी कमिटी सदस्य अष्ट लक्ष्मी शाक्य,स्थायी कमिटी सदस्य पम्फा भुसाल लगायत उपस्थित छन्। पछिल्लो समय नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र उनीइतर समूहबीचको विवाद चुलिएको छ। प्रचण्डले गत कात्तिक २८ गते सचिवालयमा पेस गरेको प्रतिवेदनलाई ओली पक्षले आरोप पत्र भनेका छन्।
जवाफमा प्रधानमन्त्री ओलीले मंसिर १३ गते अर्को प्रस्ताव सचिवालयमा दर्ता गरेका छन्। अहिले दुबै प्रस्ताव सचिवालयमा छलफलका क्रममा रहेको भए पनि ओलीले प्रचण्डको प्रस्ताव फिर्ता हुनु पर्ने अडान राख्दै आएका छन्।
प्रचण्डले भने उक्त प्रस्ताव आफ्नोमात्र नभई अरू पाँच सचिवालय सदस्यको पनि भएकाले त्यसलाई फिर्ता गर्न नसकिने बताउँदै आएका छन्।

