नेकपा सचिवालय बैठक आज बस्दै, दुवै पक्ष आ-आफ्नै अडानमा

सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । दुई अध्यक्षले एक अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि बढेको विवाद साम्य पार्न नेताहरुले गरेको प्रयास गरे पनि सफल हुन सकेको छैन । शुक्रबार दिनभर नेताहरुले सहमतिको लागि प्रयास गरे पनि दुवै पक्ष आ-आफ्नै अडानमा छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली बैठक स्थगित गरेर अनौपचारिक छलफलबाट सहमति खोज्नुपर्ने पक्षमा छन् । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष भने बैठकबाटै टुङ्ग्याउनुपर्ने अडानमा छन् । सहमति जुटाउन र आवश्यक तयारी गर्न भन्दै तीन दिनको लागि स्थगित भएको सचिवालय बैठक शनिबार बस्दै छ ।



बुधबारको सचिवालय बैठकमा ओली अनुपस्थित थिए । ओलीलाई बैठकमा उपस्थित हुन आग्रह गर्दै बैठक शनिबारसम्मको लागि स्थगित गरिएको हो । तर शनिबारको बैठकमा पनि ओली उपस्थित हुने, नहुने टुंगो लागेको छैन ।

सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले शुक्रबार र महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले विहीबार प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेका थिए । उनीहरूले केही दिन बैठक रोकेर छलफलमा बस्न प्रस्ताव गरेका थिए । तर प्रचण्डले उनीहरुको आग्रहलाई अस्वीकार गरेका थिए ।

सम्बन्धित समाचार