नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ मंसिर ।

बुटवलको एक होटलमा गोली चलेको छ । गैंडा तस्करहरुलाई नियन्त्रण गर्ने क्रममा गोली चलेको हो । गोली लागेर एक जना घाइते भएको र ३ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) प्रविण पोखरलले जानकारी दिए ।
एसपी पोखरेलका अनुसार बुटवलको मिलनचोकस्थित एक होटलमा गैंडाको खागसहित तस्करहरु बसेको भन्ने सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।
बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा बसेका चार जनामध्ये एक जनालाई गोली लागि घाइते भएका छन् । घाइते हुनेमा काठमाडौं महानगरपालिका ठेगाना भएका राकेश न्यौपाने रहेका छन् ।
घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । होटलबाट खाग समेत बरामद गरिएको र त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

