नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ मंसिर ।

पार्टीका एकजना अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नेकपा स्थायी कमिटी बैठक करिब डेढ घण्टासम्म बसेर सकिएको छ। आइतवार दिउँसो २ बजेदेखि शुरु भएको बैठक दिउँसो साढे ३ बजे सकिएको थियो।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले मात्रै सम्बोधन गरेका छन्। उनले बैठकमा बोल्दै पार्टीमा देखिएको अहिलेको संकटलाई सकारात्मक दिशातर्फ लैजाने गरी छलफल अघि बढाउनुपर्ने आवश्यकता रहेको धारणा राखेका थिए।
आजको बैठकपछि दुई अध्यक्षको प्रस्ताव र अन्य पत्र अध्ययनका लागि स्थायी कमिटी सदस्यलाई ७ दिनको म्याद दिइएको छ। श्रेष्ठका अनुसार अर्को बैठक मंसिर २८ गते दिउँसो १ बजे बस्ने भएको छ। यससँगै मंसिर २५ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठक पनि पुस ५ गतेसम्मलाई सरेको छ।
आजको बैठकमा उपस्थित नभएका प्रधानमन्त्री अेलीले एक पत्र पठाउँदै प्रचण्डको प्रस्तावमा छलफल गर्न नसकेने भएकोले बैठकमा उपस्थित नभएको जनाकारी पठाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
