स्थायी कमिटीमा बहुमत जुटाउने ओलीको प्रयास असफल, यस्तो छ प्रचण्ड-नेपाल समूहको तयारी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद थप चर्किने देखिएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी ओली स्थायी कमिटीमा बहुमत जुटाउन असफल भएपछि नैतिक संकटमा परेका छन् । ओलीलाई आफूनिकटले नै एक पदबाट राजीनामा दिन दवाव दिन थालेका छन् । यता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह भने ओलीले स्वैक्षिक रूपमा कुनै एक पदबाट राजीनामा नदिए जारी विवाद केन्द्रीय कमिटी लगेर ओलीलाई दुबै पदबाट राजीनामा गराउने तयारीमा छन् ।

नेकपा स्थायी कमिटी बैठक आइतबार बस्दैछ । स्थायी कमिटी बैठक अगाडि प्रचण्ड–नेपाल समूहलाई फुटाउने ओलीको प्रयास पनि असफल भएको छ । ओली प्रचण्डबीच गत बुधबार बालुवाटारमा भेटवार्ता भएको थियो । सो भेटमा पनि ओलीले प्रचण्डलाई एकल अध्यक्षदेखि चुनावी प्रधानमन्त्रीसम्मको प्रलोभन देखाइएको स्रोत बताउँछ । साथै, ओलीले माधव नेपालले जुनसुकै बेला धोका दिन सक्ने भन्दै दुबै अध्यक्ष मिलेर पार्टी एकतालाई जोगाउनु पर्ने बताएका थिए । तर ओलीको प्रस्तावलाई प्रचण्डले हाँसोमै उडाएका थिए ।



ओलीले गृहमन्त्री रामबहादुर थापामार्फत पनि पूर्व माओवादी नेताहरुलाई प्रभावमा पार्ने प्रयास गरेका थिए तर थापाले पूर्वमाओवादी नेतालाई प्रभावमा पर्न त सकेनन् नै उनले आफूनिकट नेताहरूबाट पनि ओलीलाई साथ दिन नसकिने बताएपछि थापा आफैं दोधारमा परेको बताइन्छ । यसबीच उपाध्यक्ष वामदेव गौतमलाई प्रभावमा पार्ने प्रयास पनि असफल भएपछि ओलीले रणनीति बदलेका छन् । स्थायी कमिटी र सचिवालयमा बहुमत जुटाउने प्रयास सफल हुन नसकेपछि ओलीले फेरि स्थायी कमिटीमा पेश भएका दुबै प्रतिवेदनलाई मिलाएर साझा प्रस्ताव ल्याउनुपर्ने बताउँदै आएका छन् ।

आफ्ना सबै प्रयास असफल भएपछि विहीबार ओलीनिकट नेताहरूबीच बालुवाटारमा छलफल भएको थियो । सबै रणनीति असफल भएपछि थप रणनीति तय गर्न ओलीले आफूनिकट नेताहरूसँग परामर्श लिएका थिए । तर ओलीनिकट अधिकांश नेताहरूले पार्टी अध्यक्षबाट राजीनामा दिएर जारी विवाद समाधान गर्नुपर्ने र पार्टी एकतालाई जोगाउनुपर्ने सुझाव दिएको स्रोतले बतायो । तर ओली भने एक पदबाट राजीनामा दिँदा प्रचण्ड र नेपालको उचाइ बढ्ने र सरकार सञ्चालनमा पनि व्यवधान आउने भन्दै थप रणनीति तयार गर्नुपर्ने बताएका थिए ।

यता प्रचण्ड–नेपाल समूह भने ओली स्थायी कमिटीमा सहभागी नभएमा जारी विवाद केन्द्रीय कमिटीमा लगेर बहुमतकै आधारमा हल गर्ने तयारीमा छन् । पार्टीका सबै कमिटीमा अल्पमतमा पुगेका ओलीमाझ आत्मासमर्पण गरेर पार्टी एकता जोगाउने या पार्टी फुटाउने मात्र विकल्प रहेको बुझेका उनीहरूलाई कुनै एक पदबाट राजीनामा दिएर विवादको गाँठो फुकाउन आग्रह गरिरहेका छन् । साथै ओलीले पार्टी फटाइहालेमा पनि क्षति कम गर्नकै लागि प्रचण्ड–नेपाल समूहले आफुनिकट विभिन्न भेलाहरू गर्दै आएका छन् ।

गत साता काठमाडौंका विद्यार्थीहरूको भेला गरेर प्रशिक्षण नै दिएको यो समूहले विहीबार मात्र बागमती प्रदेशस्तरको आफूनिकट नेता कार्यकर्ताहरूको भेला सम्पन्न गरेको थियो । भेलामा यो समूहले पार्टी यथास्थीतिमा नरहने भन्दै ओली कुनै एक पदबाट राजीनामा दिन तयार नभएमा पार्टी फुट्न पनि सक्ने र त्यो अवस्थामा पार्टीलाई कमभन्दा कम क्षति हुनेगरी तयारीमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिइएको सेतले बतायो ।

 

सम्बन्धित समाचार