नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ मंसिर ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पराजय औपचारिक रुपमा स्वीकार नगर्दै उनकी पत्नी तथा प्रथम महिला मेलानिया ट्रम्पले ह्वाइट हाउस छाड्ने तयारी शुरु गरेकी छन् । मेलानिया ट्रम्पले नोभेम्बरको मध्ययदेखि नै ह्वाइट हाउस छाडेर फ्लोरिडाको मार–ए–लिगोस्थित आलिशान पाम बीचमा सर्ने तयारी गरिरहेकी छन् । सो स्थानमा उनले नयाँ कार्यालय समेत खोल्नसक्ने बताइएको छ ।
मेलानियाको यो तयारीले ट्रम्पले सत्ता हस्तान्तरणको सरकारी प्रक्रिया अघि बढिरहँदा हार स्वीकार नगरी बसेपनि उनको परिवारले उनलाई त्यसमा साथ नदिएको देखिएको छ । यसअघि ट्रम्पका ज्वाई जारेड कुशनरले पनि ह्वाइट हाउस छाडेर फ्लोरिडामा रहेको घरमा सर्ने योजना बनाएको खबर बाहिर आएको थियो ।
मेलानियाले ह्वाइट हाउस छाड्ने सम्पूर्ण प्रक्रिया पूरा गरेर फ्लोरिडामा व्यवस्था मिलाउन आफ्नो विश्वासपात्र मार्सिया केलीलाई जिम्मा दिएकी छन् । केलीले ह्वाइट हाउसमा रहेका र फ्लोरिडा लैजानुपर्ने निजी सामानको सूची समेत बनाएको बताइएको छ ।
मेलानिया र डोनाल्ड ट्रम्पका १४ वर्षीय छोरा बेरान पनि छन् । मेलानियाले सत्ता हस्तान्तरण सहज रुपमा होस् भन्ने चाहेको बताइएको छ । बेरानलाई मेरिल्यान्डबाट फ्लोरिडाको स्कुलमा लैजाने उनले तयारी गरेकी छन् । उनले केही सामान यसअघि नै फ्लोरिडा पठाइसकेको बताइएको छ ।