नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ मंसिर ।

प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शुक्रबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच भेटवार्ता भएको हो । पार्टीभित्रको आन्तरिक विवादले अफ्यारोमा परेका ओलीले यसअघि पनि देउवासँग सत्ता साझेदारको प्रस्ताव गरेका थिए । देउवाले पनि नेकपा फुटेमा सरकार गठनको लागि सहयोग गर्ने बचन दिएका थिए ।
ओली देउवाबीचको भेटलाई लिएर उनकै पार्टीका अर्को खेमाका नेताहरुले भने विभिन्न आशंका व्यक्त गरेका छन् । कार्यकारी अध्यक्ष प्रचण्डसँग छलफलै नगरी संवैधानिक परिषद्को बैठक बोलाएका ओलीले सोही बाहनामा विभिन्न तानाबाना बुनेको प्रचण्ड माधव नेपाल समूहले आरोप लगाएको छ ।
यता बालुवाटार निकट स्रोतले भने संवैधानिक परिषद्को बैठक आगामी मंसिर २८ गतेको लागि बोलाएको सन्दर्भमा सोही विषयमा ओली र देउवाबीच छलफलका भएको जनाएको छ । भेटका क्रममा ओलीले संवैधानिक नियुक्तिमा सहयोग गर्न आग्रह गरेको बताइएको छ ।
संवैधानिक निकायमा हाल ३९ भन्दा बढी पद रिक्त छन् । हाल राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख पनि खाली छन् । यी पदमा काँग्रेसले समेत दावी गर्दै आएको छ भने भागबण्डा नमिल्दा लामो समय पदपूर्ति हुन सकेको छैन ।
