कमला मुस्कान
काठमाडौं, २७ मंसिर ।
आँखाले जमिन नदेखिने गरी
भरिएको समुन्द्रको पानीमाथि
तैरिएको मोटर बोटमा बसेर
थोरै धक मान्दै
धेरै लजाउँदै
राता राता स्याउ जस्ता
गाला बनाएर
तिम्रो आँटिलो चौडा छातीमा
सुपर ग्लुझैँ ट्याप्प टाँसिदै
दह्रा ती तिम्रा दुबै हातहरूलाई
कपासझैँ कोमल
मेरा यी गोह्रा हातहरूले
च्याप्प समात्नुलाई तिमी
प्रेम भन्छौ….?
वा हरियो बगैँचामा बसेर
एकले अर्काको मुटुको चाल सुन्दै
एकान्तमा घण्टौँ समय बिताउनुलाई
तिमी प्रेम भन्छौ…?
आखिर तिमीलाई के लाग्छ ?
के हो माया र प्रेमको परिभाषा…??
अग्ला अग्ला गगनचुम्बी
पाँचतारे होटलका कौसीहरूमा बसेर
जिब्राले आइसक्रिम चाट्दै
महङ्गा महङ्गा उपहार साट्नु प्रेम हो…?
या राजदरबारझैँ बडा बडा महलभित्र
ऐयास आरामले दिनरात बिताउनु…
आखिर तिमीलाई के लाग्छ ?
के हो माया र प्रेमको परिभाषा…??
तराईको मध्य भागमा–
–कहिले घाँस काट्न जाँदा
–कहिले गाई चराउन जाँदा
–कहिले आली लगाउँन जाँदा
–त कहिले कुलो खन्न जाँदा
भएको भेटघाट र हार्दिकताले
झ्याङ्गिने मौका पायो…….
अनि अन्तर्जातीय प्रेमिल सम्बन्धको
कलकलाउँदो टुसा बनेर
म मेरी आमाको कोखमा हुर्किएँ ।
न कुनै कफी सप, न त कुनै बर्गर हाउस
न कुनै मम–चाउमिन, न त कुनै पिजा घर
तैपनि मेरा बा.आमाले साटे त माया
अनि गरे त प्रेम….
सजाए त सपना…
अनि फुलाए, फक्राए र फलाए मलाई
पुष्ट शरीर लिएर अवैध प्रेमको निशानी
यता हेर त,
आज म तिम्रो सामु मुस्कुराइरहेछु !
ल अब भन…..
तिमीलाई के लाग्छ, आखिर के हो माया….?
अनि प्रेमको परिभाषा….??