ओलीको ‘दूत’ बनेर खुमलटार पुगे शंकर पोखरेल, प्रचण्डलाई राखे यस्तो प्रस्ताव

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थायी कमिटी सदस्य शंकर पोखरेलले भेटवार्ता गरेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेल प्रधानमन्त्री केपी ओलीको ‘दूत’ बनेर दिउँसो खुमलटार पुगेका थिए । दुई नेताबीच करिव आधा घण्टा कुराकानी भएको खुमलटार स्रोतले बतायो ।

स्रोतका अनुसार प्रचण्डसँग भोलि बिहान नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि भेटवार्ता गर्ने तय भएको छ । पोखरेल र नेम्वाङ ओली निकट नेता हुन् । आज पोखरेलले प्रचण्डलाई सहमति कायम गर्न साझा प्रस्ताव तयार गर्न आग्रह गरेका थिए । साथै उनले दुई अध्यक्ष मिलेर महाधिवेशनको तयारीमा लाग्न र ओली महाधिवेशनमा एकल अध्यक्षको उम्मेद्वार बनाउन सघाउन तयार रहेको बताएका थिए ।



सहमति खोज्न भन्दै एक साताका लागि स्थगित भएको नेकपा स्थायी कमिटी बैठक भोलि बस्दैछ । तर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड(माधवकुमार नेपालबीच सहमति भइसकेको छैन । ओली स्थायी कमिटीमा प्रचण्डको दस्तावेजमा छलफल हुन नसक्ने बताउँदै आएका छन् भने प्रचण्ड नेपाल समूह बहुमतको आधारमा जारी विवाद समाधान गर्ने तयारीमा छन् ।

यो अवधिमा ओली र प्रचण्ड बीच एक पटक मात्रै एक्लाएक्लै भेटवार्ता भएको छ । बुधवार ओली र प्रचण्डबीच डेढ घण्टा कुराकानी भएको थियो । त्यसपछि भेटवार्ता हुन सकेको छैन । दुवै पक्षको गुटगत गतिविधि पनि रोकिएको छैन ।

सम्बन्धित समाचार