नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ मंसिर ।

स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भेटेका छन् । संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले प्रधानमन्त्री केपी ओलीको सन्देशसहित आइतबार बिहानै प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।
भेटवार्तापछि नेम्वाङले प्रचण्डसँग पार्टी एकता जोगाउनेबारे कुराकानी भएको बताए । पार्टी एकता कायमै राख्न प्रचण्ड सकारात्मक रहेको उनले बताए । नेम्वाङले पार्टीको विवादबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा पनि सुनाएका थिए । उनले पार्टी एकतालाई लिएर प्रधानमन्त्री ओली चिन्तित रहेको भन्दै विभाजन रोक्न प्रचण्डलाई पनि सकारात्मक रहन आग्रह गरेका थिए ।
आज दिउँसो एक बजे स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । यद्दपी आजको बैठक नेकपा नेता कमानसिं लामाको निधनमा शोक प्रीताव पेश गरेर स्थगित गर्ने तयारी छ ।
हिजो मात्रै प्रधानमन्त्री निकट नेता शंकर पोखरेलले प्रचण्डलाई भेटेका थिए । प्रचण्डलाई भेट्न पोखरेल खुमलटार पुगेका थिए । स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल शुक्रबार काठमाडौं आएपछि लगातार भेटवार्तामा छन् । विशेषगरी पोखरेलले प्रधानमन्त्री ओलीको सन्देश लिएर नेताहरुलाई भेटिरहेका छन् ।
