नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ मंसिर ।

नेकपा स्थायी कमिटी बैठक पुस १ गतेसम्म स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले केन्द्रीय सदस्य एवं पूर्व सांसद कमानसिंह लामाप्रति शोक प्रस्ताव पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पूर्व राजदूत समेत रहेका लामाको गत विहीबार निधन भएको थियो । आइतबारको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली पनि सहभागी थिए ।
बैठकमा प्रचण्डले प्रवक्ता श्रेष्ठको नाम जोडेर अनर्गल प्रचार भएको भन्दै निन्दा गरेका थिए । कोरोनाका कारण निधन भएका नेकपा नेता कमानसिंह लामाको व्यवसायिक मामिलामा प्रवक्ता श्रेष्ठलाई जोडिएको थियो । यसअघि नै श्रेष्ठले लामाले सञ्चालन गर्ने योजना बनाएको प्रोजेक्टमा देखिएको विवाद समाधान गर्न आफूले प्रयास मात्रै गरेको बताएका थिए ।
आइतबारको बैठकमा प्रचण्डले श्रेष्ठको चरित्र हत्या हुने गरि भएका प्रचारको निन्दा गरे । त्यसविषयमा प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली भने केही बोलेनन् ।
यसअघि मंसिर २१ गते बसेको बैठकमा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्तावमा छलफल गर्न नसकिने भन्दै लिखित पत्र पठाएर बैठकका उपस्थित नहुने जानकारी गराएका थिए ।
जारी विवाद समाधानको लागि ओली र प्रचण्ड दुबै समूह सक्रिय भएपनि ठोस सहमति हुन सकेको छैन । जारी विवाद सहमतिमा समाधान गर्ने या बहुमतको निर्णयले भन्नेमा जारी विवाद अल्झिरहेको छ ।
