नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ मंसिर ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारलाई असफल बनाउने प्रयास भइरहेकाले देशमा आर्थिक क्रान्तिले गति लिन नसकेको बताएका छन् । नेपाल हस्तकला महासंघको ४८ औं वार्षिकोत्सव एवं हस्तकला वर्ष घोषणा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले राजनीतिक स्थिरता कायम भएपछिको सरकारलाई पनि असफल बनाउने प्रयास हुँदा देशमा आर्थिक क्रान्तिको सुरुवात हुन नसकेको बताए ।
हस्तकला उद्योगका समस्या समाधान गर्न कस्तो कानून आवश्यक पर्छ सम्बन्धित मन्त्रालय मार्फत सुझाव दिन मन्त्री गुरुङले आग्रह गरे । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले हस्तकला उद्यमीहरुका समस्या समाधान गर्न मन्त्रालय तत्पर रहेको बताए ।
हस्तकला समृद्धिका सम्भावना भन्ने नाराका साथ नेपाल हस्तकला महासंघले यो वर्षलाई हस्तकला वर्षका रुपमा मनाउने घोषणा गरेको छ ।
