नेकपालाई सचेत बनाउन कांग्रेसले सडक र सदन दुबै ठाउँको उपयोग गर्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा अलोकतान्त्रिक व्यक्तिहरुको चलखेलका कारण जोखिम बढेको बताएका छन् । नेपाली कांग्रेसले काठमाडौंमा गरेको सरकार विरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले देशमा लोकतान्त्रिक व्यवस्था लागू भए पनि अलोकतान्त्रिक व्यक्तिहरूले चलखेल गरेको बताएका हुन् ।

उनले नेकपा नेतृत्वको सरकारलाई इंगित गर्दै भने, ‘लोकतान्त्रिक व्यवस्थामा अलोकतान्त्रिक पृष्ठभूमिका कम्युनिष्टहरूको नेतृत्व हुँदा व्यवस्था र लोकतन्त्र दुवैलाई खतरा बढेको छ।’ उनले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र, संघीयता, गणतन्त्र र समावेशितालाई संकटमा पार्न खोजेको पनि आरोप लगाए। ‘हामी यो देशको भविष्य उज्यालो बनाउन लडिरहेका छौं। व्यवस्था लोकतान्त्रिक छ तर यिनीहरूको पृष्ठभूमि लोकतान्त्रिक छैन,’ पौडेलले भने, ‘लोकतन्त्र र संघीयता, गणतन्त्र, समावेशिता संकटमा पार्न खोजिँदैछ।’



पौडेलले नेकपाले जनता विरोधी क्रियाकलाप गरिरहेकोले बाध्य भएर कांग्रेस सडकमा आएको पनि बताए। नेकपालाई सचेत बनाउन कांग्रेसले सडक र सदन दुबै ठाउँको उपयोग गर्ने उनको भनाइ छ।

सम्बन्धित समाचार