नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० मंसिर ।

चिनी उद्योगीहरुले माइतीघरमा आन्दोलन गरिरहेका उखु किसान वास्तविक किसान नै नभएको आरोप लगाएका छन्। सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगीहरुले मन्त्री लेखराज भट्टलाई माइतीघर मण्डलामा आन्दोलन गर्न आउने व्यक्तिहरु उखुकिसान नभएको बताएका हुन्।
मन्त्रालयमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री भट्टले उद्योगीहरुले आन्दोलन गर्न आउने व्यक्तिहरु उखु किसान नभएर विचौलिया भएको बताएका छन् । बिचौलियाहरुले वास्तविक किसानसँग सस्तोमा भौचर खरिद गरी आन्दोलन गर्न आएका उद्योगीहरुले बताएका मन्त्री भट्टले बताए।
उद्योगीहरुले सुरुमा किसानलाई भुक्तानी दिएर पछिमात्रै बिचौलियालाई भुक्तानी गर्ने बताएको पनि पत्रकारहरुलाई मन्त्री भट्टले सुनाए। उनले भने, ‘किसानको नाममा आउने, किसानलाई नै ठग्ने प्रकृतिका बिचौलियाहरु रहेछन् भने उहाँहरुबाटै थाहा पाएँ। सय रुपैयाँको भौचर छ भने ५० रुपैयाँमा किन्ने र यहाँ आएर माइतीघर मण्डलामा बस्ने किसान संघर्ष समितिको नाममा व्यापार गर्ने कुरो मिल मालिकहरुले भनेको आरोप लगाएको कुरा हो। त्यो भएर तपाईंहरु आफ्नो तर्फबाट अलि अन्वेषण गर्न पर्यो त्यो के हो भन्ने हामी मन्त्रालयले पनि अध्ययन गरिराखेका छौं।’
