नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० मंसिर ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच पछिल्लो राजनीतिक परिस्थितिलाई लिएर सोमबार करिव तीन घण्टा छलफल भएको छ। सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक द्वन्द्व, संवैधानिक निकायमा नियुक्ति, संसद अधिवेशनलगायतमा विवाद चुलिएका बेला नेकपा अध्यक्षसमेत रहेका ओलीले राष्ट्रपति भण्डारीसँग लामो छलफल गरेका हुन्।
शितलनिवास स्रोतका अनुसार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच सोमबार बिहान ११ बजेदेखि दुई बजेसम्म छलफल भएको छ।
प्रधानमन्त्री ओलीले तीन दिन अघि पनि राष्ट्रपति भण्डारीसँग आफ्नो पार्टीमा उत्पन्न विवादलाई लिएर छलफल गरेका थिए।
राष्ट्रपति भण्डारीले नेकपा विवादमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आएकी छन्। नेकपामा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच उनीहरुको कार्यविभाजन र क्षेत्राधिकारलाई लिएर चर्किएको विवाद पार्टी विभाजनको स्थितिसम्म पुगेको छ।
ओलीले मगंलबार बिहान संवैधानिक परिषद् बैठक बोलाएका छन् भने नेकपाको स्थायी कमिटी बैठक बुधबारका लागि प्रस्तावित गरिएको छ। स्थायी कमिटी बैठक तोकिएकै दिन ओलीले हिजो आइतबार बिहान संवैधानिक परिषद् बैठक आव्हान गरेका थिए। तर प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नी सापकोटा अनुपस्थित रहेपछि ओली संवैधानिक परिषद् बैठक स्थगित गर्न बाध्य भएका थिए।
तर ओलीले आफ्नो सुरक्षाका निम्ति आफूले चाल्न सक्न उपयुक्त कदमहरुबारे राष्ट्रपति भण्डारीसँग निरन्तर छलफल गरिरहेका छन्। सोमबारको भेटमा आफूले चाल्ने कदममा साथ दिन ओलीले आग्रह गरेको स्रोतको दाबी छ ।
